आज:  | Tue, 21, Apr, 2026

बिन्दवासिनीमा नेकपा एमालेको भेला सम्पन्न, अब नाराभन्दा कामको राजनीति चाहिन्छ: रिमा यादव

Avatar photo दिशा निर्देश ३० माघ २०८२, बिहीबार १८:४३ मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१९ बिन्दवासिनीमा नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलामा प्रतिनिधि सभा उम्मेदवार रिमा यादवले विकासको केन्द्रमा कृषि, सीप र स्वास्थ्यलाई राख्नुपर्नेमा जोड दिइन्।

यादवले भाषणको सुरुमै भनिन्, “अब नाराभन्दा कामको राजनीति चाहिन्छ।” उनले क्षेत्रको आर्थिक आधार बलियो बनाउन सीपमूलक तालिम विस्तार र प्राविधिक शिक्षाको प्रवर्द्धन आवश्यक रहेको बताइन्। युवालाई रोजगारीका लागि विदेश धकेल्ने अवस्था अन्त्य गर्न स्थानीय तहमै अवसर सिर्जना गर्नुपर्ने उनको धारणा थियो।

कृषि सुधारलाई प्राथमिक एजेन्डा बनाएकी यादवले प्रत्येक वडामा कृषि क्लिनिक स्थापना गर्ने योजना रहेको उल्लेख गरिन्। किसानले समयमै मल र बिउ नपाउने समस्या दोहोरिन नदिन नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताइन्। आधुनिक कृषि प्रणाली र पशुपालन प्रवर्द्धनमार्फत आम्दानी बढाउने लक्ष्य रहेको उनको भनाइ थियो।

स्वास्थ्य क्षेत्र सुधारबारे पनि उनले धारणा राखिन्। “आधारभूत स्वास्थ्य सेवा सहज र गुणस्तरीय हुनुपर्छ,” उनले भनिन्, “यसका लागि आवश्यक नीति र बजेटको व्यवस्था सदनबाटै सुनिश्चित गर्नुपर्छ।”

विगतमा अधुरा रहेका योजना पूरा गर्दै क्षेत्रको समग्र विकासलाई गति दिने प्रतिबद्धता जनाउँदै उनले आफूलाई विजयी गराउन आग्रह गरिन्।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावागी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा अध्यक्ष संजु छतकुली, युवा नेता मुकेश दुबेदी लगायतले पनि धारणा राखेका थिए। युवा नेता लियाकत अली, अजय साहसहित सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण पिन्टु उपाध्यायले गरेका थिए।


सम्बन्धित खबरहरु