वीरगञ्ज। जसपा नेपालबाट निर्वाचित वीरगञ्ज महानगरपालिका वडा न. ३२ का वडाध्यक्ष रियाज अहम्द ठकुराई, युवा नेता महम्द अलीसहित सयौँ नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिदेखि संगठनमा सक्रिय नेता कार्यकर्तासम्मको सामूहिक प्रवेशले पर्सा क्षेत्र न. १ मा एमालेको संगठनात्मक शक्ति थप मजबुत बन्दै गएको छ ।
मंगलवार वीरगञ्ज–३२ मा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित सम्पूर्ण वडा सदस्यहरू, विभिन्न राजनीतिक दल परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरू एमालेमा समाहित भएका हुन् । कार्यक्रमको नेतृत्व पर्सा क्षेत्र न. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले गरेका थिए । उनले नवप्रवेशीहरूलाई खादा लगाएर स्वागत गर्दै पार्टीमा आबद्ध गराएका थिए ।
कार्यक्रममा बोल्दै उम्मेदवार यादवले नेकपा (एमाले) देश विकास, सुशासन र समृद्ध नेपालको स्पष्ट दृष्टिकोण बोकेको पार्टी भएको बताए । जनताको आधारभूत आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको उनको भनाइ थियो । उनले जनताको विश्वास र अपेक्षालाई व्यवहारमा उतार्न बलियो संगठन र इमानदार नेतृत्व आवश्यक हुने उल्लेख गरे ।
यादवका अनुसार प्रतिबद्ध, सचेत र अनुभवी जनप्रतिनिधिहरू तथा युवाहरू एमालेमा प्रवेश गर्नुले पार्टीको अभियानलाई थप ऊर्जा मिलेको छ ।
नवप्रवेशी वडाध्यक्ष रियाज अहम्द ठकुराईले स्थानीय विकास, जनसेवा र स्थायित्वका लागि एमाले उपयुक्त राजनीतिक शक्ति भएको निष्कर्षका साथ पार्टी प्रवेश गरेको बताए । उनले वडा स्तरबाटै जनताको समस्या समाधान र विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन एमालेको संगठन र नीति सहयोगी हुने धारणा राखे ।
वडा न. ३२ मा निर्वाचित नेतृत्वसहित ठूलो संख्यामा नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि स्थानीय तहमा पार्टीको पकड थप बलियो बन्दै गएको देखिएको छ ।
