वीरगञ्ज। बारामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहित विभिन्न राजनीतिक दलमा आवद्ध प्रभावशाली नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
सिमरा खानेपानीका पूर्व अध्यक्ष कासिम हुसेन, जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका पूर्व महासचिव एवम् लोसपाका केन्द्रीय सदस्य शिवजी साह, लोसपाका प्रदेश सदस्य राजुराज गिरी, नगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव पौडेल, लोसपाका नेता रामबाबु साह, युवा व्यवसायी बृजेश साह र लोसपाको जितपुर वडा कमिटी अध्यक्ष नौशाद आलमलगायत रास्वपामा आबद्ध भएका हुन् ।
यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले, जसपा तथा विभिन्न पेशागत र सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका राजेन्द्र गुप्ता, मुकेश गुप्ता, जयप्रकाश गुप्ता, अनिल गिरी, धनराज गुप्ता र सन्तोष यादवलगायत नेताहरुले पनि रास्वपामा प्रवेश गरेका छन् ।
चितवनमा आयोजित एक कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेले नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै पुराना दलले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे । उनले भने, “देशलाई इमानदार नेतृत्व, स्पष्ट नीति र जवाफदेही प्रणाली चाहिएको छ । यही विश्वासका कारण आज विभिन्न दलका जिम्मेवार व्यक्तिहरु रास्वपामा जोडिँदै हुनुहुन्छ ।”
लामिछानेले बाराजस्तो राजनीतिक रूपमा संवेदनशील जिल्लामा बढ्दो समर्थनले परिवर्तनको चाहना स्पष्ट देखिएको उल्लेख गर्दै रास्वपा कुनै व्यक्ति वा सत्ता केन्द्रित नभई प्रणाली सुधारको अभियान भएको बताए ।
लोसपासहित विभिन्न दलबाट भएको यो समूहगत प्रवेशलाई बाराको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । स्थानीय तहमा प्रभाव राख्ने नेताहरु रास्वपामा जोडिएसँगै बारा क्षेत्र नम्बर ४ को राजनीतिक समीकरण बदलिने संकेत देखिएको छ ।
यस पार्टी प्रवेशको पहल बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहबर अन्सारीले गरेका हुन् । अन्सारीले भने, “बाराका नागरिक अब पुरानै शैलीको राजनीति चाहँदैनन् । सुशासन, विकास र रोजगारीको स्पष्ट एजेन्डा बोकेको रास्वपाप्रति जनआकर्षण बढ्दै गएको छ ।”
उनले नवप्रवेशी नेताहरु समाजमा स्थापित र विश्वासिलो रहेको उल्लेख गर्दै उनीहरुको सहभागिताले पार्टी संगठन र अभियानलाई थप मजबुत बनाएको बताए ।
कार्यक्रममा रास्वपाका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पार्टी प्रवेश गर्ने नेताहरुले वैकल्पिक राजनीतिको आवश्यकता महसुस गर्दै रास्वपाको अभियानसँग आफ्नो सोच मेल खाएकाले पार्टी रोजेको बताएका छन् ।
पार्टी प्रवेशपछि बारा क्षेत्र नम्बर ४ मा रास्वपाको संगठन थप सक्रिय र सुदृढ हुने अपेक्षा गरिएको छ भने आगामी दिनमा अझ धेरै नेता तथा कार्यकर्ताहरु रास्वपामा जोडिने तयारीमा रहेको बताइएको छ ।
