आज:  | Tue, 21, Apr, 2026

भाषण र आश्वासन हैन, काम गरेर देखाउने रिमाको अठोट

Avatar photo दिशा निर्देश २४ माघ २०८२, शुक्रबार २०:५३ मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। राजनीति उनको बाल्यकालको सपना थिएन । न त कुनै ठूलो राजनीतिक परिवारको पृष्ठभूमि नै । तर समाजलाई नजिकबाट बुझ्ने क्रममै उनी आज प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर जनताको माझमा आएकी छिन् । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी रिमा कुमारी यादव पुस्तान्तरण हुँदै गएको राजनीतिमा नयाँ सोच र फरक यात्राको नाम हो ।

२९ वर्षकी रिमा कुमारी यादव बुबा विश्वनाथ राउत अहिर र आमा सिकीली देवीकी छ सन्तानमध्ये दोस्रो सन्तान हुन् । साधारण पारिवारिक वातावरणमा हुर्किएकी उनले सानैदेखि शिक्षा र अनुशासनलाई प्राथमिकतामा राखिन् । प्राथमिक तहको अध्ययन काठमाडौंको हाँडेगाउँस्थित एकता सदन बोर्डिङ स्कुलबाट गरिन् भने एसएलसी ज्ञानदीप सेकेण्डरी स्कुल, कलैयाबाट दिइन् । त्यसपछि प्लस टु र स्नातक तहसम्म हरिखेतान बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गरिन् ।

शिक्षा सकेपछि उनी गाउँकै विद्यालयमा अध्यापनमा जोडिइन् । शिक्षकका रूपमा काम गर्दा उनले विद्यालयको भौतिक अवस्था, नीतिगत कमजोरी र विद्यार्थीका बाध्यतालाई नजिकबाट नियालिन् । पढाइ बीचमै छोडेर कमाउन जान बाध्य विद्यार्थी र सीमित स्रोतसाधनमै संघर्ष गरिरहेका शिक्षकको अवस्था देख्दा शिक्षा सुधार केवल भाषणको विषय होइन भन्ने उनले बुझीन् ।

सन् २०१८ मा उनको अधिवक्ता प्रधुमन प्रसाद यादवसँग विवाह भयो । उनी एक छोरा र एक छोरीकी आमा हुन् । पारिवारिक जिम्मेवारीसँगै समाजप्रति उत्तरदायी भूमिकामा सक्रिय रहँदै आएकी यादव शिक्षासँगै कृषि र महिला सशक्तीकरणका विषयमा पनि जानकार छिन् ।

गाउँतिरका महिलाहरू अझै पनि निर्णयका सवालमा पुरुषमै निर्भर हुनुपर्ने अवस्था, आर्थिक अभावका कारण विद्यार्थीहरूले भविष्य अधुरै छोड्नुपर्ने बाध्यता जस्ता समस्या उनले आफ्नै आँखाले देखेकी छन् । ती समस्याको समाधानका लागि राज्यको नीति र नेतृत्व दुवै जिम्मेवार हुनुपर्ने उनको धारणा छ । त्यसका लागि संसदसम्म जनताका आवाज पु¥याउने अठोट उनले लिएकी छन् ।

राजनीतिमा नयाँ भएकै कारण पारिवारिक राजनीतिक पृष्ठभूमि छैन भन्ने प्रश्न उठ्ने गरेको छ। यसमा उनी खुला रूपमा भन्छिन्, ‘राजनीति कसैले जन्मिँदै जानेको हुँदैन । देख्दै, सुन्दै र पढ्दै आएको अनुभवलाई अहिले प्रत्यक्ष अभ्यासमा उतार्ने अवसर पाएकी छु । जनताका समस्या र गुनासो प्रत्यक्ष सुन्दा समाजको वास्तविक अनुहार बुझ्न अझ सजिलो भएको उनी बताउँछिन् ।

विगतमा धेरै नेताले आश्वासन मात्रै बाँडेकोप्रति उनको असन्तुष्टि स्पष्ट छ । गर्न नसक्ने कामको वाचा नै गर्नु गलत भएको उनी भन्छिन् । बोलेपछि गरेर देखाउनुपर्नेमा उनले जोड दिएकी छिन् । यही सोच, यही प्रतिबद्धताका साथ रिमा कुमारी यादव आज पर्सा २ का मतदातामाझ नयाँ विकल्पका रूपमा अगाडि बढिरहेकी छन् ।


सम्बन्धित खबरहरु