काठमाडौँ । नेपालको निर्माण क्षेत्रलाई लक्षित गर्दै आयोजना गरिएको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ। प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ।
निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन्। प्रदर्शनी स्थलमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सामग्री, उपकरण र सेवाहरू अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा हुँदै आएको नेपाल बिल्डकनले पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ। यस प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको भनाइ छ।
प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, आधुनिक तथा मोड्युलर किचन, रूफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप तथा प्लम्बिङ सामग्री, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिल लगायत निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिएका छन्।
निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माणको योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ।
