आज:  | Tue, 21, Apr, 2026

डुमरवानामा रास्वपाकाे घरदैलाे, समस्या सुन्न होइन, समाधान गर्न आएको हुँ : ई. अरविन्द साह

Avatar photo दिशा निर्देश २४ माघ २०८२, शुक्रबार १२:४७ मा प्रकाशित (२ महिना अघि)

बारा। प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले जनताका समस्या र मुद्दालाई सशक्त रूपमा उठान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानामा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले यस्तो अठोट व्यक्त गरेका हुन्।

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका ई. साहले घरदैलोका क्रममा स्थानीयवासीसँग संवाद गर्दै रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा सुशासनलाई आफ्ना प्रमुख एजेन्डा रहेको बताए। उनले विकासका कार्यक्रम कागजमा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने भन्दै संसदमा पुगेर क्षेत्रका वास्तविक समस्या मजबुत रूपमा उठाउने धारणा राखे।

ई. साहले भने, “यहाँका समस्या सुन्ने होइन, समाधानतर्फ लैजानु मेरो प्राथमिकता हो। जनताले दिएको मतको जिम्मेवारी इमानदार ढंगले निर्वाह गर्नेछु।” उनका अनुसार बारा क्षेत्रलाई केन्द्रको उपेक्षाबाट मुक्त गराउँदै परिणाममुखी विकास आवश्यक छ।
घरदैलो भेटघाटका क्रममा स्थानीय मतदाताहरूले ई. साहप्रति उत्साह देखाएका छन्।

भेटघाटपछि धेरै मतदाताले वैकल्पिक राजनीतिप्रति भरोसा बढेको बताउँदै घण्टी छापमा मतदान गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन्। स्थानीयहरूले पुरानै शैलीको राजनीतिबाट दिक्क भइसकेको र नयाँ सोच तथा स्पष्ट एजेन्डा भएका उम्मेदवारको खोजीमा रहेको बताएका छन्।

डुमरवानामा भएको घरदैलो कार्यक्रममा रास्वपाका केन्द्रीय परिषद् सदस्य डा. सुशील साह, मधेस प्रदेश उपसभापति राधिका न्यौपाने, जितपुर सिमरा उपमहानगर समिति सभापति सुरेश केसी लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। उनीहरूले जनतासँग सिधा संवाद गर्दै अघि बढ्नु नै पार्टीको राजनीतिक कार्यशैली भएको बताएका छन्।

यसअघि ई. साहले बिहीबार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ र ६ लगायतका क्षेत्रका मतदातासँग पनि भेटघाट गर्दै उनीहरूका समस्या र गुनासाे सुनेका थिए। ती सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्दै संसदमा प्रभावकारी रूपमा उठाउने उनले बताएका छन्।


सम्बन्धित खबरहरु