आज:  | Tue, 21, Apr, 2026

पर्सा २ मा रिमा यादवप्रति बढ्दो जनलहर, घरदैलोमा उत्साहजनक सहभागिता

Avatar photo दिशा निर्देश २३ माघ २०८२, बिहीबार २१:११ मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। पर्सागढी नगरपालिका वडा न. ३ झवराहका मतदाताले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा विकास, रोजगारी र आधारभूत सेवामा स्पष्ट सुधार चाहिएको बताएका छन् । घरदैलोका क्रममा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवसँग भएको भेटघाटमा स्थानीयले आफ्ना प्राथमिक समस्या र अपेक्षा खुलेर राखेका हुन् ।

स्थानीयका अनुसार कृषि उत्पादनमा लागत बढ्दो छ तर बजार र प्रविधिको पहुँच कमजोर छ । स्वास्थ्य सेवाका लागि अझै टाढा धाउनुपर्ने अवस्था छ भने शिक्षामा गुणस्तर र व्यवहारिक सिपको कमी महसुस भइरहेको छ । यिनै विषयमा केन्द्रित हुँदै उम्मेदवार यादवले मतदातासँग प्रत्यक्ष संवाद गरेकी थिइन् ।

यादवले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने नीति लिएको बताउँदै मल, बिउ र प्रविधिमा किसानको पहुँच बढाउने, आधुनिक खेती प्रणाली र व्यावसायिक कृषि तालिम विस्तार गर्ने प्रतिबद्धता जनाइन् । साथै महिलालाई लक्षित उद्यमशीलता कार्यक्रममार्फत आम्दानी र आत्मनिर्भरता बढाउने योजना रहेको उनले स्पष्ट पारिन् ।

स्वास्थ्य सेवामा वडा स्तरमै आधारभूत सुविधा सुदृढ गर्ने, नगर अस्पताललाई थप प्रभावकारी बनाउने र डिजिटल प्रणालीमार्फत सेवा सहज बनाउने उनको धारणा थियो । शिक्षा क्षेत्रमा भने सिपमूलक र व्यवहारिक शिक्षामा जोड दिँदै विद्यालय सरसफाइ, नियमित अभिभावक–शिक्षक संवाद र अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्ने बताइन् ।

पूर्वाधार विकासका सन्दर्भमा सडक, ढल, पुल र बिजुली निर्माणमा गुणस्तर र पारदर्शिता सुनिश्चित गरिने भन्दै स्थानीय समस्या नीति निर्माण तहसम्म पुर्‍याएर समाधान खोज्ने प्रतिवद्धता उनले व्यक्त गरिन् ।

घरदैलो कार्यक्रममा सहभागी मतदाताले स्थानीय मुद्दा बुझ्ने र समाधानको खाका प्रस्तुत गर्ने उम्मेदवारप्रति सकारात्मक धारणा राख्दै परिवर्तनका लागि साथ दिने संकेत दिएका छन् ।


सम्बन्धित खबरहरु