आज:  | Tue, 21, Apr, 2026

पुराना अनुहारबाट दिक्क मतदाता, पर्सा २ मा रिमा यादवप्रति बढ्दो विश्वास

Avatar photo दिशा निर्देश २० माघ २०८२, सोमबार २१:२८ मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको चुनाव केवल प्रतिस्पर्धा मात्र नभई मतदाताको सोच परिवर्तनको परीक्षा बन्दै गएको छ । पटक–पटक दोहोरिँदै आएका पुराना अनुहारप्रति बढ्दो असन्तुष्टिका बीच मतदाताहरू नयाँ विकल्पतर्फ आकर्षित हुन थालेका छन् । यही माहोलमा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवलाई धेरैले फरक र सम्भावनायुक्त विकल्पका रूपमा हेर्न थालेका छन् ।

राजनीतिमा नयाँ देखिए पनि समाजसेवामा लामो समयदेखि सक्रिय यादव शिक्षा, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणका अभियानमार्फत राजनीतिमा होमिएकी हुन् । उनको उम्मेदवारीलाई मतदाताले दलको मात्र नभई काम र प्रतिबद्धताका आधारमा मूल्यांकन गर्न थालेको स्थानीयहरू बताउँछन् ।

नेकपा एमाले युवालाई कम अवसर दिन्छ भन्ने बुझाइ रहेको समयमा पार्टीले रिमा यादवलाई उम्मेदवार बनाउनु आफैंमा सन्देशमूलक कदमका रूपमा हेरिएको छ । नयाँ नेतृत्वको खोजीमा रहेको ‘जेन–जी’ पुस्ता र परिवर्तन चाहने मतदाताका लागि यादव फरक छनोट बनेकी छिन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनिमिल लिंकरोड निवासी यादवले बालबालिकालाई विद्यालय भर्ना गराउने, ड्रपआउट दर घटाउने र अभिभावकलाई शिक्षाप्रति सचेत बनाउने काममा सक्रिय भूमिका खेलेकी छन् । यसले शिक्षा क्षेत्रसँग आबद्ध अभिभावक, शिक्षक र युवाहरूलाई उनको नजिक ल्याएको देखिन्छ ।

विशेषगरी मधेश समाजमा महिलाको भूमिका अझै पनि सीमित बनाइने सोचका बीच यादवको उम्मेदवारीलाई सामाजिक सन्देशका रूपमा लिइएको छ । महिला अगुवाहरूका अनुसार उनको उम्मेदवारीले महिलाहरू नेतृत्व तहमा पुग्न सक्छन् भन्ने विश्वासलाई बलियो बनाएको छ ।

रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवामा सहज पहुँच र स्थानीय विकासलाई प्राथमिकतामा राखेकी यादवले आफ्ना मुद्दा संसदमार्फत उठाउने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन् । राजनीतिक विश्लेषकहरू भन्छन्, पछिल्लो समय देखिएको जनसमर्थनले पर्सा २ को चुनावी समीकरणलाई अनपेक्षित दिशातर्फ मोड्न सक्ने संकेत गरेको छ ।

हाल पर्सा २ मा चुनावी चहलपहल बढ्दो छ । मतदाताहरू यसपटक नामभन्दा काम, पुरानाभन्दा नयाँ र वाचाभन्दा व्यवहार खोज्ने मनस्थितिमा देखिएका छन् ।


सम्बन्धित खबरहरु