वीरगञ्ज। राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत आज राति ११ः३० बजे जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी राष्ट्रपति माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्।
त्यसैगरी, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राष्ट्रपति पौडेलको राजकीय शिष्टाचार भेट हुने कार्यक्रम तय भएको छ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने तालिका रहेको परराष्ट्र सचिव राईले जानकारी दिए। साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान समारोहमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू पनि भ्रमणमा सहभागी हुनेछन्।
नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको मानिन्छ। सन् १ सेप्टेम्बर १९५६ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै देशबीचको सम्बन्ध मित्रता, सद्भाव र सहयोगमा आधारित रहँदै आएको छ। नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका थिए। जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावास पनि सञ्चालनमा छ।
इतिहासकारहरूका अनुसार जापानी बौद्ध भिक्षु रेभ एकाई कावागुची सन् १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थको खोजीमा नेपाल आएका थिए। उनले जापानमा नेपालको परिचय गराउनुका साथै आफ्ना लेखन र प्रकाशनमार्फत लुम्बिनीको महत्त्व उजागर गरेका थिए।
राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएपछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक भएको बताइन्छ।
नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ, जसले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ। पछिल्ला वर्षहरूमा दुवै देशका उच्च पदस्थ व्यक्तिहरूले एकअर्का देशको भ्रमण गर्दै आएका छन्।
जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ। द्विपक्षीय अनुदान, सहुलियतपूर्ण ऋण, प्राविधिक सहयोग र बहुपक्षीय सहायतामार्फत जापानले मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृतिका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
सिन्धुली सडक, कुलेखानी (१ र २) जलविद्युत् आयोजना, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना, उदयपुर सिमेन्ट उद्योग, मेलम्ची खानेपानी आयोजना, नागढुङ्गा सुरुङ मार्गलगायत परियोजनाहरू जापानी सहयोगअन्तर्गत सञ्चालनमा रहेका प्रमुख परियोजनाहरू हुन्।
यसका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत स्वयंसेवक कार्यक्रम र नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम प्रदान गर्दै जापानले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै आएको छ।
