आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज–११ र १३ का जनप्रतिनिधिसहित सयौँ जसपा परित्याग गर्दै एमाले प्रवेश

Avatar photo दिशा निर्देश १९ माघ २०८२, आईतवार १०:०८ मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा अन्य विभिन्न दल परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसिया), वडा सदस्यहरू जगनलाला महतो धानुक र गौदमी देवी, वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरीलगायतका नेताहरूले जसपा त्याग गरी एमाले प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई पूर्व मन्त्री एवं पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष चौरसियाले जसपा नेपालले मधेस मुद्दालाई केवल सत्ता केन्द्रित राजनीतिका लागि प्रयोग गरेको आरोप लगाए। वर्तमान राजनीतिक परिस्थितिमा जनता र देशको हितका लागि दृढतापूर्वक उभिन सक्ने नेतृत्व केपी शर्मा ओली र नेकपा (एमाले) मात्र भएको दाबी गर्दै आफूहरूले एमाले रोजेको बताए।

त्यस्तै, वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको इसारामा देशलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए। जनताको हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमालेमा प्रवेश गरेको उनको भनाइ थियो।

पार्टी प्रवेश गराउँदै पूर्व मन्त्री यादवले आफ्नो राजनीतिक हत्या गर्ने प्रयासपछि आफू एमालेमा आएको दाबी गरे। जेन–जी आन्दोलनपछि देशमा सक्रिय भएका विदेशी शक्तिहरूको दबाब अन्त्य गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले आफूलाई प्रभावित गरेको बताए।

कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


सम्बन्धित खबरहरु