वीरगञ्ज । सबैया साझेदारी वन व्यवस्थापन समूहको साधारण सभा कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।
सभाले नयाँ नेतृत्व चयन गर्दै अध्यक्षमा लखनलाल साह र उपाध्यक्षमा असलम आलमलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
साधारण सभामा समूहको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी सदस्यहरूले वन संरक्षण, दिगो व्यवस्थापन तथा समुदायको सक्रिय सहभागितालाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।
नव निर्वाचित अध्यक्ष साहले समूहको हितमा सबैलाई साथमा लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै वन संरक्षण र स्थानीय समुदायको समृद्धिका लागि पहल गर्ने बताए।
उपाध्यक्ष आलमले पारदर्शिता र सहकार्यका माध्यमबाट समूहलाई थप सशक्त बनाइने उल्लेख गरे।
कार्यक्रममा वन व्यवस्थापन समूहका सदस्यहरू, स्थानीय प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
