वीरगञ्ज । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो घरदैलो अभियान तीव्र पारेका छन् ।
चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएका दासले वीरगञ्ज महानगरपालिका २७, बहुदरमाई नगरपालिका वडा नम्बर ६ गमरिया टोलसहित क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहेका छन् ।
घरदैलोका क्रममा दासले स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षा ध्यानपूर्वक सुन्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका छन् । विकास, सुशासन, भ्रष्टाचारमुक्त राज्य व्यवस्था र जनउत्तरदायी लोकतन्त्र निर्माणप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई समर्थन गर्न आग्रह गरेका छन् ।
युवा उम्मेदवार दासले वीरगञ्जलाई नेपालको ‘आर्थिक राजधानी’ र बारा–पर्सा क्षेत्रलाई ‘औद्योगिक कोरिडोर’ का रूपमा विकास गरिनुपर्ने धारणा राख्दै त्यसका लागि संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । उद्योगी–व्यवसायीका लागि लगानीमैत्री वातावरण, कृषकका लागि ‘कृषि हब’ स्थापना, युवालाई स्वदेशमै रोजगारी, तथा महिला, दलित र खेलाडीका लागि राज्यबाट भत्ता व्यवस्था गर्नुपर्ने उनको एजेन्डा रहेको छ ।
त्यसैगरी, स्वास्थ्य र शिक्षालाई पूर्ण रूपमा निःशुल्क र गुणस्तरीय बनाउने, जीर्ण बनेको नारायणी रंगशालाको पुनःनिर्माण, तथा ग्रामीण क्षेत्रमा शुद्ध खानेपानी, बिजुली र सडक पु¥याउने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन् ।
घरदैलो अभियानअन्तर्गत वीरगञ्ज २७ रामपुर र उदयपुर क्षेत्रमा समेत दासको सक्रिय उपस्थिति देखिएको थियो । कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो भने नागरिकहरूले खुलेर आफ्ना गुनासा र सुझाव राखेका थिए ।
घरदैलो अभियानका क्रममा उम्मेदवार दासले मतदातालाई आफ्नो चुनाव चिह्न ‘आँखा छाप’ मा मतदान गर्न अनुरोध गर्दै नेपालको माटो सुहाउँदो लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन सबैको साथ आवश्यक रहेको बताएका छन् ।
