वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–स्थित मितेरीपुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको समुद्घाटन सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाको सहयोग, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, हे.क्वा. को सहकार्यमा सञ्चालन भइरहेको “मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रम” अन्तर्गत निर्माण सम्पन्न भएको उक्त सुरक्षा पोष्टको समुद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
समुद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका प्रमुख एसपी पुरण चन्द भट्ट, उपअनुसन्धान निर्देशक सन्तोष ढुंगेल, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी लगायतको उपस्थिति रहेको थियो।
समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख मेयर राजेशमान सिंहले मितेरीपुलजस्तो अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा आधुनिक सीमा सुरक्षा पोष्टको निर्माणले सीमा सुरक्षा सुदृढ हुनुका साथै अव्यवस्थित गतिविधि नियन्त्रण, आवागमन व्यवस्थापन र नगरको सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्यले दिगो विकास र सुरक्षित सीमाक्षेत्र निर्माण सम्भव हुने उल्लेख गरे।
कार्यक्रमको अध्यक्षता वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक तथा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले गरेका थिए। अध्यक्ष खेतानले मितेरीपुल क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने लक्ष्यसहित सीमा सौन्दर्यकरण कार्यक्रम अघि बढाइएको जानकारी गराउँदै नवनिर्मित सीमा सुरक्षा पोष्ट सोही कार्यक्रमअन्तर्गतको एक महत्वपूर्ण उपलब्धि भएको बताए।
