वीरगञ्ज। संविधान, संघीयता र लोकतन्त्रको रक्षा तथा विकासको स्पष्ट रोडम्यापका कारण नेकपा एमाले रोजेको दाबी गर्दै पर्सा १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले यसपटक पनि चुनाव जितेर ‘ह्याट्रीक’ पूरा गर्ने लक्ष्य लिएका छन् ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन पर्सा क्षेत्र नम्बर २ बाट झिनो मतान्तरले पराजित भएका यादव त्यसपछि भएका संसदीय निर्वाचनमा भने निरन्तर विजयी हुँदै आएका छन् । २०७४ र २०७९ मा पर्सा १ बाट लगातार दुईपटक निर्वाचित हुँदै उनले जिल्लाको राजनीतिक इतिहासमा नयाँ रेकर्ड कायम गरेका थिए । पर्सा १ मा यसअघि कुनै पनि उम्मेदवारले एकभन्दा बढी पटक जित निकालेको उदाहरण थिएन ।
२०७४ मा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका यादवले नेपाली कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६ सय ५१ मतान्तरले पराजित गर्दै पहिलोपटक संघीय सांसद बने । त्यसपछि २०७९ मा जसपा नेपालबाट उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई करिब एक हजार ६ सय २० मतान्तरले हराउँदै पुनः संसद प्रवेश गरे ।
अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेर फेरि पर्सा १ को मैदानमा उत्रिएका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले अघिल्ला दुई कार्यकालमा जनताको विश्वास जितेकै आधारमा तेस्रो जित सुनिश्चित हुने दाबी गरे ।
“पर्सा–१ मा दुईपटक लगातार जित्ने इतिहास मैले बनाएको हुँ । यसपालि पनि जनताको मूल्याङ्कनबाट ह्याट्रीक पूरा हुन्छ भन्ने विश्वास छ,” उनले भने ।
आफ्नो कार्यकालमा जनताको दुःख–सुखमा सधैँ साथ दिएको दाबी गर्दै यादवले मन्त्री हुँदा वीरगञ्जको खानेपानी संकट समाधानमा खेलेको भूमिकालाई प्रमुख उपलब्धि माने । उनका अनुसार खानेपानी मन्त्री रहेका बेला पर्याप्त बजेट व्यवस्थापन गरी घरघरमा पानी पु¥याउने काम सुरु गरिएको थियो ।
“वीरगञ्जमा खानेपानीको चरम अभाव हुँदा मन्त्रालयबाट बजेट ल्याएर समस्या समाधानको थालनी गरियो । अहिले विश्व बैंकको सहकार्यमा साढे चार सय करोड रुपैयाँभन्दा बढीको दीर्घकालीन खानेपानी आयोजना अघि बढिसकेको छ,” उनले बताए ।
त्यस्तै हैजाको महामारी फैलिँदा काठमाडौंबाट विशेषज्ञ टोली ल्याएर नियन्त्रण अभियान चलाइएको र कोरोना महामारीका बेला पनि जनताको घरदैलोमा पुगेर सहयोग गरिएको उनको दाबी छ ।
यसपटक फरक दलबाट उम्मेदवार बन्नुको कारण स्पष्ट पार्दै यादवले भने, “संविधान, संघीयता र लोकतन्त्रको रक्षा गर्न एमाले प्रवेश गरेको हुँ । राष्ट्रप्रेम र विकासको सवालमा केपी ओलीको अडानबाट प्रभावित छु । एमालेमा आए पनि मधेस आन्दोलनका मुद्दा छोडेको छैन । बाँकी मुद्दाको समाधान एमालेले नै गर्न सक्छ ।”
