वीरगञ्ज । जाली तथा नक्कली नोटको ठगीबाट नागरिकलाई बचाउन वीरगञ्जमा सचेतना अभियान सुरु गरिएको छ ।
पछिल्लो समय बजार, यातायात र खुद्रा कारोबारमा नक्कली नोटको जोखिम बढ्दै गएपछि नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सरकारको संयुक्त सहकार्यमा अभियान थालिएको हो ।
अभियानअन्तर्गत सक्कली नोट कसरी पहिचान गर्ने भन्ने जानकारी समेटिएका सचेतनामूलक ब्यानर बैंक, बजार क्षेत्र, भीडभाड हुने सार्वजनिक स्थान र प्रमुख चोकहरूमा राख्न थालिएको छ । आज नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक सुशील पौडेल र सहायक निर्देशक सन्देश ठाकुरले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकलाई ब्यानर हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।
निर्देशक पौडेलले नक्कली नोटसम्बन्धी ठगीका घटनाले सर्वसाधारण मात्र नभई व्यापारी र सेवाग्राहीसमेत प्रभावित हुन थालेपछि सचेतना अभियान आवश्यक भएको बताए । उनले नागरिकले दैनिक कारोबारमा नोटको सुरक्षा चिन्ह जाँच गर्ने बानी बसाल्नुपर्नेमा जोड दिए । उनका अनुसार ब्यानर, सूचना सामग्री र प्रत्यक्ष सचेतनामार्फत अभियानलाई निरन्तरता दिइनेछ ।
प्रहरी उपरीक्षक पाठकले नक्कली नोट प्रयोग गरी ठगी गर्ने घटनाको उजुरी बढ्दो क्रममा रहेको उल्लेख गर्दै नागरिक सचेत भए मात्र यस्ता अपराध नियन्त्रण गर्न सकिने बताए । उनले शंकास्पद नोट भेटिएमा नजिकको प्रहरी कार्यालय वा बैंकमा जानकारी गराउन आग्रह गरे ।
सहायक निर्देशक ठाकुरका अनुसार नेपाल प्रहरीसँगको सहकार्यमा पर्सा जिल्लाका विभिन्न पालिकामा समेत सचेतनामूलक सामग्री वितरण गरिनेछ । ब्यानरमा नोटका सुरक्षा चिन्ह, पानी छाप, धागो, अंक र अन्य पहिचानका उपायहरू उल्लेख गरिएको छ ।
