आज:  | Tue, 21, Apr, 2026

बारामा प्रतिनिधिसभा चुनाव: ११२ उम्मेदवार मैदानमा, क्षेत्र ३ र ४ केन्द्रमा

Avatar photo दिशा निर्देश ८ माघ २०८२, बुधबार १४:२६ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट १ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दल, नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले यसपटक बाराको चुनाव प्रतिस्पर्धात्मक देखिएको छ ।

निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा २०, क्षेत्र नम्बर २ मा २९, क्षेत्र नम्बर ३ मा २४ र सबैभन्दा धेरै क्षेत्र नम्बर ४ मा ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ मा एमालेका निवर्तमान सांसद अच्युत मैनालीसहित २० उम्मेदवार मैदानमा छन् । क्षेत्र नम्बर २ मा २९ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ, जहाँ एमाले, कांग्रेस, रास्वपा, जसपा नेपाल, राप्रपा र जनमत पार्टीका उम्मेदवार प्रमुख छन् ।

क्षेत्र नम्बर ३ मा एमालेकी पूर्वमन्त्री ज्वालाकुमारी साह र कांग्रेसका पूर्वमन्त्री फरमुल्लाह मंसुरबीचको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ । पूर्वसांसदसहित २४ उम्मेदवार मैदानमा छन् ।

सबैभन्दा चर्चित क्षेत्र नम्बर ४ मा ३९ उम्मेदवारबीच प्रतिस्पर्धा छ । एमालेका पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, कांग्रेसका श्यामबाबु गुप्ता, रास्वपाका रहबर अंसारी, जसपा नेपालका सन्जु साह कानु र समुन्नत नेपाल पार्टीका पूर्व आईजीपी सर्वेन्द्र खनाल प्रमुख उम्मेदवार हुन् ।

निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर ३ र ४ मा अनुभवी र नयाँ अनुहारबीचको प्रतिस्पर्धाले सबैको ध्यान तानेको छ ।


सम्बन्धित खबरहरु