आज:  | Tue, 21, Apr, 2026

अफगानिस्तानको एक होटेलमा विस्फोट, एक चिनियाँ नागरिकसहित सातजनाको मृत्यु

Avatar photo दिशा निर्देश ७ माघ २०८२, मंगलवार १५:०२ मा प्रकाशित (३ महिना अघि)

अफगानिस्तानको काबुलस्थित सहर–ए–नाव क्षेत्रमा रहेको एक होटेलमा भएको विस्फोटमा एक चिनियाँ नागरिकसहित सातजनाको मृत्यु भएको छ । समाचार संस्था एएनआईका अनुसार विस्फोटको कारणबारे अपुष्ट रिपोर्टहरू सार्वजनिक भएका छन् ।

होटेलभित्र रहेको ग्यास सिलिन्डर चुहिएर विस्फोट भएको र यसमा कर्मचारीको लापरबाही रहेको बताइएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानका अनुसार उक्त विस्फोट चिनियाँ मुस्लिम र अफगानीहरूको संयुक्त होटेल ‘चिनियाँ नुडल’मा भएको हो ।

उनले थप जानकारी दिँदै चीनको सिनजियाङ प्रान्तका बासिन्दा अब्दुल मजिद (चिनियाँ मुस्लिम) पनि मृतकहरूमध्ये एक रहेको बताए ।
उक्त होटेल अब्दुल मजिद नामक चिनियाँ मुस्लिम, उनकी श्रीमती र अब्दुल जब्बार महमुद नामक अफगान नागरिकले संयुक्त रूपमा सञ्चालन गर्दै आएका थिए ।

जद्रानले अन्य ६ जना अफगानीको मृत्यु भएको बताए । ठूलो संख्यामा घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसैबीच, अल जजिराका अनुसार इटालेली गैरसरकारी संस्था ‘इमर्जेन्सी’ले काबुलमा आफूले रेखदेख गर्ने एउटा चिकित्सा केन्द्रमा विस्फोटका २० जना घाइते ल्याइएको र तीमध्ये सात जनाको अस्पताल पुग्दासम्म नै मृत्यु भइसकेको बताएको छ । संस्थाले हताहतीको यो संख्या अझै प्रारम्भिक रहेको जनाएको छ । गल्फन्युजबाट ।


सम्बन्धित खबरहरु