बारा। बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले क्षेत्रको विकास, सुशासन र जनताको जीवनस्तर सुधारलाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन्। विगतमा सुरु गरिएका विकास योजनालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा ठोस काम गर्ने उनको भनाइ थियो।
श्रेष्ठ यसअघि पनि यही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अनुभवी नेता हुन्। अघिल्लो निर्वाचनमा उनी तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। पछिल्लो समय राजनीतिक यात्रा परिवर्तन गर्दै उनी नेकपा एमालेमा आबद्ध भएका हुन्।
उनले आफ्नो राजनीतिक परिवर्तन व्यक्तिगत स्वार्थका लागि नभई स्थिर सरकार र प्रभावकारी नीति कार्यान्वयनका लागि भएको दाबी गरे। जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याए।
