आज:  | Tue, 21, Apr, 2026

पूर्वमन्त्री यादवद्वारा पर्सा–१ बाट मनोनयन दर्ता

Avatar photo दिशा निर्देश ७ माघ २०८२, मंगलवार १४:५४ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । पूर्वमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अन्तिम समयमा नेकपा एमालेमा प्रवेश गरेका यादवले वीरगञ्जको राधेमाईस्थित जिल्ला समन्वय समिति कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले संघीयता र संविधानको रक्षा गर्नका लागि एमाले रोजेको बताएका छन्। संविधान कमजोर भए संघीयता टिक्न नसक्ने भन्दै त्यसको संरक्षणका लागि आफू एमालेमा आएको उनको भनाइ थियो।

पर्सा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धि बहादुर (हरि) पन्तले पनि उम्मेदवारी दर्ता गराएका छन्। मनोनयनपछि पन्तले मुलुकले परिवर्तन खोजिरहेको उल्लेख गर्दै पर्साका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।

यस्तै, डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सर्राफले जिल्ला समन्वय समिति पर्सामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

मनोनयनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सर्राफले देशमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै युवाहरू वैकल्पिक नेतृत्वको खोजीमा रहेकाले आफू उम्मेदवार बनेको बताए। उनी यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य पदमा दुई पटक चुनाव लडेका थिए।

उता, पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी रीमा कुमारी यादवले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी उम्मेदवार बन्ने चर्चा भए पनि अन्तिम समयमा पार्टीले नयाँ अनुहारलाई टिकट दिएको हो। यादव पेशाले अधिवक्ता हुन् भने एमाले नेता प्रधुमन यादवकी पत्नी पनि हुन्।

पर्सा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल साह कानुले पनि मनोनयन दर्ता गराएका छन्। उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका हुन्।

त्यसैगरी, पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अमिताभ बचन दासले पनि उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट विभाजित डा. बाबुराम भट्टराई र जनार्दन शर्माको नेतृत्वमा रहेको दलबाट दासले मनोनयन दर्ता गराएका हुन्।


सम्बन्धित खबरहरु