वीरगञ्ज । नेकपा माओवादी केन्द्र परित्याग गरेका नेता रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा–४ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने भएका छन्। पार्टीले अन्सारीलाई बारा–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। टुंगो लगाउन रास्वपा सभापति रवि लामिछाने स्वयं सिमरामा उपस्थित थिए।
बारा–४ मा उम्मेदवार बन्नका लागि व्यवसायी इच्छाबहादुर वाग्ले, शिक्षक शालिकराम अधिकारी लगायतका व्यक्तिहरू पनि आकांक्षी बनेका थिए। शिक्षक अधिकारी उम्मेदवार बन्नका लागि पहिलो पटक राजनीतिक दलमा खुलेर आएका थिए।
अन्सारी पर्साका हुन्। उनी २०७९ सालमा पर्सा क्षेत्र नम्बर १(१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभा सदस्यबाट राजीनामा दिएर अन्सारी प्रतिनिधिसभा चुनाव लड्न बारा आएका हुन्।
रास्वपाले युवा र अनुभवी नेतृत्वलाई संयोजन गर्दै बारामा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
