वीरगञ्ज । नेपाली कांग्रेसले बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएसँगै पार्टीभित्रको शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ। अन्तिम निर्णयअनुसार बारामा गगन थापा पक्षधरले चारै क्षेत्रमा टिकट हात पार्दा सभापति शेरबहादुर देउवा समूह पूर्ण रूपमा किनारामा परेको छ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरको गृहजिल्ला समेत रहेको बारामा कांग्रेसले कुनै पनि निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवारलाई समेटेको छैन।
कांग्रेसले बारा–१ बाट शम्भुबहादुर बुढाथोकी, बारा–२ बाट भैयाराम यादव, बारा–३ बाट सहमहामन्त्री फरमुल्लाह मन्सुर र बारा–४ बाट श्यामबाबु गुप्तालाई उम्मेदवार बनाएको छ।
कांग्रेस बाराका युवा नेता नवराज त्रिपाठीका अनुसार चारै जना उम्मेदवार गगन थापा समूहका हुन्।
“बारामा गगन पक्षले स्पष्ट बहुमतका साथ टिकट पाएको छ। चारै क्षेत्रमा एउटै पक्षका उम्मेदवार चयन भएका छन्,” उनले बताए।
उम्मेदवार छनोटसँगै बारामा देउवा पक्षका प्रभावशाली नेताहरू एकैपटक बाहिरिएका छन्। पूर्वमन्त्री तथा निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरी यसपटक चुनावी मैदानमा उत्रन पाएनन्। विशेष महाधिवेशनअघि कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्र नम्बर १ बाट चौधरीको नाम एकल सिफारिस गरे पनि केन्द्रले त्यसलाई बेवास्ता गरेको हो।
त्यस्तै, कांग्रेस बाराका पूर्व सभापति राधेचन्द्र यादव पनि टिकटबाट वञ्चित भएका छन्। जिल्ला समितिले क्षेत्र नम्बर २ बाट यादवको नाम एकल रूपमा सिफारिस गरेको थियो।
रोचक पक्ष के छ भने यादवका छोरा हाल बारा जिल्ला सभापति रहे पनि अन्तिम उम्मेदवार सूचीमा उनी अटाउन सकेनन्।
जिल्लाबाट सिफारिस गरिएका नामहरू काटिँदै जानु र चारै क्षेत्रमा एउटै गुटका उम्मेदवार चयन हुनुले कांग्रेसभित्र बारामा शक्ति सन्तुलन गगन थापा पक्षतर्फ सरेको स्पष्ट संकेत दिएको छ।
