आज:  | Tue, 21, Apr, 2026

पर्साका चारै क्षेत्रमा कांग्रेसले पुरानै अनुहार दोहोर्‍यायो

Avatar photo दिशा निर्देश ७ माघ २०८२, मंगलवार ०९:३६ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । नेपाली कांग्रेसले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ। सोमबार राति बसेको कांग्रेस संसदीय बोर्ड बैठकले पर्साका चारवटै क्षेत्रमा पुरानै अनुहारलाई दोहोर्‍याउने निर्णय गरेको हो।

उम्मेदवारमध्ये तीन जना सभापति शेरबहादुर देउवा पक्षका तथा एक जना महामन्त्री गगन थापा पक्षका रहेका छन्।

कांग्रेसले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व केन्द्रीय सदस्य अनिल रुंगटालाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य रामरुप कुर्मीले जानकारी दिए। रुंगटा यसअघि २०७४ को निर्वाचनमा पर्सा–१ बाट उम्मेदवार बनेका थिए। त्यसभन्दा अघि दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिकतर्फ उम्मेदवार बनेर निर्वाचित भएका थिए।

त्यस्तै, पर्सा क्षेत्र नम्बर २ बाट पूर्व केन्द्रीय सदस्य तथा निवर्तमान सांसद अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरी, र क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री, पूर्व सांसद तथा पूर्व केन्द्रीय सदस्य रमेश रिजाललाई उम्मेदवार बनाइएको कुर्मीले बताए।

उनीहरूमध्ये चौरसिया तीन पटकका सांसद हुन् भने चौधरी र रिजाल चार पटकसम्म सांसद भइसकेका छन्। रिजाल र चौधरी २०४८ सालदेखि निरन्तर निर्वाचन लड्दै आएका अनुभवी नेता हुन्। चौरसिया र रिजाल देउवा पक्षका हुन् भने चौधरी गगन थापा पक्षका रहेका छन्।


सम्बन्धित खबरहरु