वीरगञ्ज । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।
उम्मेदवारले मनोनयन दर्ताका क्रममा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेश गर्नुपर्ने व्यवस्था छ।
मनोनयनका क्रममा उम्मेदवारले वैयक्तिक विवरण फाराम भरी सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेछ। प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद वा भौचर अनिवार्य हुनेछ। महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यसअघि आयोगले समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक प्रणालीबाट १ सय १० जना र प्रत्यक्ष प्रणालीमार्फत १ सय ६५ जना निर्वाचित हुनेछन्।
यसैबीच, आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि प्रकारको तडकभडक नगर्न, शान्त र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ। भीडभाड कम गरी प्रक्रिया सहज बनाउन उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरिएको आयोगले जनाएको छ।
चुनाव सुरक्षाका लागि प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको छ। अधिकांश राजनीतिक दलहरूले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलहरूले आज बिहानसम्म उम्मेदवार टुंग्याउने तयारी गरेका छन्।
