आज:  | Tue, 21, Apr, 2026

प्रदीप यादवसहित वीरगञ्ज मेयर राजेशमान र दर्जनौँ नेता एमाले प्रवेश

Avatar photo दिशा निर्देश ६ माघ २०८२, सोमबार ०८:३३ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । पूर्वमन्त्री प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित जसपाका दर्जनौँ नेता तथा जनप्रतिनिधिहरू पनि एमालेमा समाहित भएका छन्।

आइतबार राति भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा प्रदीप यादव, जसपाका महासचिव तथा पूर्व सांसद मोहम्मत इस्तियाक राई, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफलगायतले एमाले प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्ने अन्यमा जसपाका केन्द्रीय सदस्य पुरुषोत्तमलाल झा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख नेक महमद अन्सारी, वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष अजय चौरसिया, १४ का अध्यक्ष महबुब इलाही, १५ का अध्यक्ष रमेश यादव, २३ का अध्यक्ष राधाकृष्ण रौनियार, ३० का अध्यक्ष मनोज यादव, ३२ का अध्यक्ष महमद रियाज तथा पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलम रहेका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित प्रदीप यादव २०७९ को निर्वाचनमा २२ हजार ५ सय ३७ मत ल्याएर विजयी भएका थिए। २०८१ वैशाखमा जसपा विभाजन हुँदा उनले अशोक राई पक्षलाई साथ दिँदै जसपामा गएका थिए।

एमाले स्रोतका अनुसार प्रदीप यादवलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाउने तयारी गरिएको छ। यही कारण उनले एमाले प्रवेश गरेको राजनीतिक वृत्तमा चर्चा छ।

उता, वीरगञ्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगी र प्रदीप यादव २०७४ को निर्वाचनमा एकैसाथ थिए। पछि दुबैबीच राजनीतिक तिक्तता बढेको थियो। प्रदीपसँगको वैरभावकै कारण सरावगीले जसपा नेपाल परित्याग गरी एमाले रोजेका थिए।

२०७९ को स्थानीय निर्वाचनमा राजेशमान सिंहले नगर प्रमुखमा उम्मेदवारी दिन एमाले रोजेका थिए। उनले २०७८ माघ २८ मा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेशको घोषणा गरेका थिए। तर विजय सरावगी एमाले प्रवेश गरेपछि राजेशमान सिंह भने एमालेमा नगई जसपा नेपालबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए।

यसपटक प्रदीप यादव र राजेशमान सिंहसहित उनीहरू निकट नेताकार्यकर्ता एमाले प्रवेश गरेपछि पर्सा जिल्लाको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको छ।


सम्बन्धित खबरहरु