वीरगञ्ज । नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको छ। आइतबार राति जसपा नेपाल परित्याग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा ग्रहण गरी पार्टी प्रवेश गरेका यादवलाई एमालेले पर्सा–१ को टिकट दिएको हो।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै यादवले जसपा नेपालभित्र आफूलाई राजनीतिक रूपमा समाप्त गर्ने षड्यन्त्रको संकेत पाएपछि एमाले रोज्न बाध्य भएको बताए। “मलाई सहिद बनाउने योजना भइरहेको महसुस भएपछि पार्टी परिवर्तन गर्ने निर्णय लिएँ,” उनले भने, “एमालेले ममाथि भरोसा गर्दै उम्मेदवार बनाएकोमा अध्यक्ष केपी ओलीज्यू तथा नेतृत्वप्रति आभारी छु।”
मंगलबार मनोनयन दर्ता हुने कार्यक्रम रहेकाले सोमबार नै निर्वाचन क्षेत्रमा फर्किएर चुनावी अभियान सुरु गर्ने यादवले जानकारी दिए।
उल्लेखनीय छ, यादव गत पुस १४ गते अशोक राई नेतृत्वको जसपा परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए। त्यतिबेला उनलाई जसपा नेपालको केन्द्रीय सदस्यसमेत बनाइएको थियो।
तर हालै जसपा नेपालले पर्सा–१ बाट जिल्ला अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेपछि आफूलाई धोका दिएको महसुस भएको र त्यसै कारण एमाले प्रवेश गर्दै पर्सा–१ बाट उम्मेदवार बन्नुपरेको पूर्वमन्त्री यादवको भनाइ छ।
