आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जका बलिराम चौहानको निर्देशनमा निर्मित ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

Avatar photo दिशा निर्देश ३ माघ २०८२, शुक्रबार १६:४८ मा प्रकाशित (३ महिना अघि)

काठमाडौं। वीरगञ्जका निर्देशक बलिराम चौहानको निर्देशनमा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले ललितपुरको लबिम महलमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट, धोका र बदलाको कथा प्रस्तुत गरिएको छ । सुरुमा प्रेम र रोमान्स देखिए पनि क्रमशः तनाव, धोका र बदलातर्फ कथा मोडिँदै गएको ट्रेलरमा स्पष्ट देख्न सकिन्छ । प्रेम नपाउँदाको मानसिक अवस्था र त्यसले जन्माउने घटनाक्रमलाई ट्रेलरले समेटेको छ ।

चलचित्रको मूल कथा भने पूर्ण रूपमा खुलाइएको छैन । दर्शकमा जिज्ञासा पैदा गर्ने हिसाबले ट्रेलर सफल देखिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्रको टोन भिजुअल र कलर प्रयोगमार्फत समात्ने प्रयास गरिएको छ ।

ट्रेलरमा चलचित्रका अधिकांश कलाकार देखिन्छन् । ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन् ।

माघ १६ गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’ बलिराम चौहानको डेब्यु फिचर फिल्म निर्देशन हो । यसअघि उनले ‘मिस स्कार्लेट’ नामक वेब सिरिज निर्देशन गरेका थिए । त्यसका साथै विभिन्न शर्ट फिल्महरूमा काम गर्दै उनले निर्देशनको अनुभव बटुलेका छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रका को–प्रोड्युसर भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्


सम्बन्धित खबरहरु