आज:  | Tue, 21, Apr, 2026

५१ हजार राशीको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द देवकोटालाई प्रदान

Avatar photo दिशा निर्देश २ माघ २०८२, बिहीबार १७:०२ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जका पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साले स्व. गिरीको पुण्यतिथिको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा नगद ५१ हजार रुपैयाँसहित देवकोटालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले पत्रकार देवकोटालाई ५१ हजार रुपैयाँको चेक र कदरपत्र हस्तान्तरण गरे ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहानलगायतको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष खनालले स्वर्गीय गोपाल गिरी तत्कालीन वीरगञ्ज नगर प्रमुख तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसमेत रहेको स्मरण गर्दै उहाँ निर्भीक, जनमुखी र सिद्धान्तनिष्ठ पत्रकार तथा कुशल जनप्रतिनिधि रहेको उल्लेख गरे । माओवादीद्वारा गरिएको उहाँको हत्या नेपाली पत्रकारिता क्षेत्रका लागि गम्भीर क्षति भएको बताउँदै खनालले २०६१ सालदेखि क्रियाशील पत्रकारितालाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आइएको जानकारी दिए ।

पुरस्कार ग्रहण गर्दै पत्रकार गोविन्द देवकोटाले स्व. गोपाल गिरीजस्तो व्यक्तित्वको नाममा स्थापित पुरस्कार पाउनु आफ्नो लागि ठूलो सम्मान र जिम्मेवारी भएको बताए । उनले सत्य, तथ्य र जनताको पक्षमा निर्भीक पत्रकारिता गर्न निरन्तर प्रतिबद्ध रहने उल्लेख गरे ।

प्रमुख अतिथि मन्त्री श्याम पटेलले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र, खोजमूलक र जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताए । स्व. गोपाल गिरीले पत्रकारिता र स्थानीय शासन दुवै क्षेत्रमा दिएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मन्त्री पटेलले पत्रकारहरूको पेशागत हकहित र सुरक्षाका लागि प्रदेश सरकार सहयोगी रहने प्रतिबद्धता जनाए ।

देवकोटा वीरगञ्जबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन् ।

वीरगञ्जका पूर्व मेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्षसमेत रहेका गोपाल गिरीको २०६० साल माघ १ गते तत्कालीन माओवादीले गोली हानी हत्या गरेको थियो ।

यसअघि स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरू गया यादव, कन्हैयालाल केसरी, ओमप्रकाश खनाल, श्याम बन्जारा, पंकज श्रेष्ठ, बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साहलगायत पुरस्कृत भइसकेका छन् ।


सम्बन्धित खबरहरु