वीरगञ्ज। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नं. २ बाट युवा नेता अमिताभ बचन दासलाई उम्मेदवार बनाएको छ। पार्टीले रोजगारी र निःशुल्क स्वास्थ्य उपचारलाई मुख्य चुनावी एजेन्डा बनाउँदै दासलाई औपचारिक रूपमा अघि सारेको हो।
पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरी पिडरीमा आयोजित एकता बैठकमार्फत उम्मेदवारी घोषणा गरिएको हो। दास हाल प्रलोेपाका पर्सा जिल्ला इन्चार्जको जिम्मेवारीमा छन्।
उम्मेदवारी घोषणा सभामा बोल्दै अमिताभ बचन दासले मुलुकमा बढ्दो बेरोजगारी र महँगो उपचार सेवाले जनतालाई संकटमा पारेको बताए। उनले “हरेक घरमा रोजगारी” प्रलोेपाको केन्द्रीय लक्ष्य भएको उल्लेख गर्दै राज्यले आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने धारणा राखे।
क्षेत्र नं. २ की संयोजक तथा प्रदेश सदस्य रेणु वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा क्षेत्रीय तहका नेताहरूको उल्लेख्य उपस्थिति थियो। सहभागी वक्ताहरूले पर्सामा संगठन विस्तार र चुनावी तयारीलाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग प्रमुख बालकृष्ण श्रेष्ठले राजनीतिमा जनसेवाभन्दा स्वार्थ र सौदाबाजी हावी हुँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले जनताको दैनिकीसँग जोडिएका समस्या समाधानलाई प्राथमिकता दिने राजनीति गर्ने बताए। साथै आगामी निर्वाचनमा पार्टीको चुनाव चिह्न ‘आँखा’ मा मतदान गर्न उनले मतदातासँग अपिल गरे।
बैठकले सन्तोष प्रसाद कलवारको संयोजकत्वमा १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै चुनावी अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउने निर्णय गरेको छ। कार्यक्रमको सञ्चालन सुनिल रौनियारले गरेका थिए।
