वीरगञ्ज । क्यान्सर पीडित तथा गम्भीर बिरामीलाई अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका ठोरी गाउँपालिका १ का युवा आकाश अर्याललाई अटाे–रिक्सा सहयोग गरिएको छ ।
उनको निरन्तर सामाजिक सेवाको कदर गर्दै स्थानीय युवा दाता र ठोरी गाउँपालिकाको संयुक्त सहयोगमा करिब ६ लाख रुपैयाँ बराबरको ई–रिक्सा हस्तान्तरण गरिएको हो ।
ठोरी गाउँपालिकाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने ५४ जना स्थानीय युवादाताबाट ३ लाख रुपैयाँ संकलन गरिएको थियो । उक्त रकमबाट खरिद गरिएको ई–रिक्सा भरतपुर महानगरपालिका–९ स्थित मिस्ट गार्डेनमा आयोजित कार्यक्रमका बीच आकाश अर्याललाई हस्तान्तरण गरिएको हो ।
लामो समयदेखि आफ्नै पहलमा क्यान्सर बिरामीलाई निःशुल्क अस्पताल पुर्याउँदै आएका आकाशको सेवाले समाजमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको सहभागी वक्ताहरूले बताए । अभियानभर स्थानीय दातासँग सहयोग संकलन गर्ने कार्यको नेतृत्व धीर सिंह घिमिरे र सन्तोष श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ठोरी–चितवन समन्वय समाजका प्रवक्ता सुदिप थापा, ठोरी उपभोक्ता समितिका अध्यक्ष जीवन खड्का, होटल व्यवसायी संघका केन्द्रीय सदस्य हीरा श्रेष्ठ, फुड श्याकका सञ्चालक सुसान्त सिंह ठाकुरी, ठोरी गाउँपालिका १ का वडाध्यक्षका प्रत्यासी नवराज फुयाल लगायतले आकाश अर्यालको योगदानको प्रशंसा गर्दै यस्ता कार्यले समाजलाई सकारात्मक दिशातर्फ लैजाने बताए ।
आफ्नो धारणा राख्दै आकाश अर्यालले स्थानीय दाता र स्थानीय सरकारले आफूले गर्दै आएको सामाजिक कामलाई विश्वास र सम्मानसाथ मूल्यांकन गरेकोमा धन्यवाद व्यक्त गरे । उनले हालसम्म करिब पाँच हजार बिरामीलाई निःशुल्क अस्पताल सेवा पुर्याइसकेका छन्।
