वीरगञ्ज। आगामी माघ १५, १६ र १७ गते वीरगञ्जमा आयोजना हुने मधेश साहित्य महोत्सव २०२६ को दोस्रो संस्करणको तयारीका विषयमा शनिवार सरोकारवाला तथा नागरिक समाजका प्रतिनिधिहरूबीच छलफल सम्पन्न भएको छ ।
उत्कर्ष नेपालको आयोजनामा हुन लागेको महोत्सवको तयारीलाई लिएर गरिएको छलफल उत्कर्ष नेपालका अध्यक्ष ऋतुराजको अध्यक्षतामा सम्पन्न भएको हो ।
छलफलमा मधेश साहित्य महोत्सव आयोजक समूहकी सलमा खातुनले यस वर्षको महोत्सव ‘गाउँ मन्थन’ विषयमा केन्द्रित रहने जानकारी दिँदै मधेशका सबै क्षेत्र, समुदाय र वर्गको सहभागिता सुनिश्चित गरिने बताइन् ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उत्कर्ष नेपालका जय साहले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि मधेश साहित्य महोत्सव आवश्यक रहेको बताए । साहित्य, संस्कृति र सामाजिक संवादलाई सशक्त बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो ।
छलफलमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, प्रकृति सेवा प्रतिष्ठानका जसपाल सिंह, सामाजिक अभियन्ता प्रकाश थारु, लिडरसिप डेभलपमेन्ट इन्स्टिच्युटका प्रबन्ध निर्देशक अनिल जैयसवाल, मानव सेवा आश्रमका देवेश गुप्ता, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई,चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क., जेन–जी प्रतिनिधि विशेष साहलगायतले सुझाव प्रस्तुत गरेका थिए ।
सहभागीहरूले प्यानल छलफलका विषयवस्तु सहभागीको रुचिअनुसार तय गर्नुपर्ने, वक्ताहरूलाई सबै क्षेत्रबाट समावेशी बनाउनुपर्ने तथा मधेशका भाषा, साहित्य, संस्कृति र परम्परालाई प्राथमिकताका साथ समेट्नुपर्ने सुझाव दिएका थिए ।
साथै तराई–मधेशमा विवाहमा गाइने परम्परागत गीत, स्थानीय संस्कृति, खानाका परिकार तथा स्वदेशी उत्पादनलाई स्टलमार्फत प्रस्तुत गर्ने विषयमा पनि छलफल गरिएको थियो ।
यसैगरी, महोत्सवमा प्रस्तुत गरिने रचनाका लागि माघ ३ गते ‘ट्यालेन्ट हन्ट’ आयोजना गरी छनोट भएका रचनालाई मात्रै कार्यक्रममा समावेश गरिने जय साहले जानकारी दिए ।
