वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सा जिल्लामा तयारी तीव्र गतिमा भइरहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र व्यवस्थित बनाउन आवश्यक तयारीलाई योजनाअनुसार अगाडि बढाइएको कार्यालयको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालय पर्साकी जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारका अनुसार पर्सा जिल्लामा कुल ४४३ वटा मतदान केन्द्रमार्फत मतदान गराइनेछ । नियमित रूपमा ४४१ वटा मतदान केन्द्र कायम गरिएको छ भने दुई वटा अस्थायी मतदान केन्द्र थपिएका छन् ।
तीमध्ये एक वीरगञ्ज कारागारमा र अर्को नेपाली सेनाको श्रीजंग गणमा रहनेछ । कारागारको केन्द्रमार्फत कैदीबन्दीले मतदान गर्नेछन् भने सुरक्षाकर्मी तथा अन्य कर्मचारीहरुले श्रीजंग गणको केन्द्रमार्फत मत दिनेछन् ।
निर्वाचन क्षेत्रगत विवरण अनुसार क्षेत्र नम्बर १ मा १०३, क्षेत्र नम्बर २ मा ११० तथा क्षेत्र नम्बर ३ र ४ मा समान रूपमा ११४–११४ वटा मतदान केन्द्र रहेका छन् । यसैगरी पर्सा जिल्लामा मतदान स्थलको संख्या १६७ वटा रहेको छ । क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ वटा मतदान स्थल तोकिएका छन् ।
मतदाता विवरण प्रस्तुत गर्दै जिल्ला निर्वाचन अधिकारी रौनियारले पर्सा जिल्लामा कुल मतदाता संख्या ३ लाख ७६ हजार ५१३ रहेको जानकारी दिइन् । फागुन २० गतेसम्म १८ वर्ष पूरा भई मतदान गर्न योग्य बनेका मतदाताहरू यस सूचीमा समावेश छन् । कुल मतदातामध्ये १ लाख ६४ हजार ४२१ महिला, २ लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन् ।
यसपटक मतदाता नामावलीमा नयाँ मतदाता थपिने क्रम पनि देखिएको छ । राष्ट्रिय परिचयपत्रका आधारमा करिब ११ हजार मतदाता थपिएका छन् भने बायोमेट्रिक प्रक्रियामार्फत करिब २६ हजारको हाराहारीमा मतदाता नामावलीमा समावेश गरिएको छ ।
निर्वाचनको मितिबारे प्रष्ट पार्दै जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारले निर्वाचन तोकिएकै मितिमा हुनेमा कुनै शंका नरहेको बताइन् । “निर्वाचन आयोगले तयारीलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ । जिल्लास्तरमा पनि सबै काम समयमै सम्पन्न गर्ने गरी काम भइरहेको छ,” उनले भनिन् ।
उनले सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी भइसकेको उल्लेख गर्दै दलहरूले पनि आफ्नो तयारीलाई तीव्र बनाइरहेको बताइन् । साथै उनले मतदातालाई कुनै भ्रममा नपरी निर्धक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरिन् ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विद्यालयमा पुगेर मतदानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै रौनियारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्ला निर्वाचन कार्यालय निरन्तर रूपमा सक्रिय रहेकोमा जोड दिइन् ।
निर्वाचन आयोगले निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत पनि तोकीसकेको छ । निर्वाचन आयोगका अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।
क्षेत्र नम्बर २ मा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका उपरजिष्ट्रार मधुसुदन आचार्य, क्षेत्र नम्बर ३ मा उच्च सरकारी वकील कार्यालय वीरगञ्जका उपन्यायधिवक्ता बुद्धिलाल श्रेष्ठ र क्षेत्र नम्बर ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत नुतन झालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो।
नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले नियुक्त अधिकृतहरूको नामावली आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिसकेको छ ।
