वीरगञ्ज । आर्थिक संस्कारको सुधार र दीगो समृद्धिका लागि स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
पिङ्क रोज मिडिया, आर्थिक संस्कार र लायन्स क्लब काठमाडौँ सगुनको आयोजनामा वीरगञ्जमा सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगञ्ज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कार सुदृढ हुन नसक्ने बताए । मानसिकताको परिवर्तन नै आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिए । युवाहरू लहैलहैमा नलागी सकारात्मक र सिर्जनशील काममा अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।
वीरगञ्जको समग्र विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै मेयर सिंहले संघीय सरकारले वीरगञ्जप्रति अपेक्षित ध्यान नदिएको गुनासो गरे । देशभरको ढुवानीको भार वीरगञ्जले वहन गरे पनि राज्यबाट पाउनुपर्ने सुविधा नपाएको भन्दै उनले असन्तोष व्यक्त गरे ।
मधेश विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै उद्यमशीलता विकास आजको आवश्यकता भएको बताए । अब जागिर खोज्ने संस्कारभन्दा रोजगारी सिर्जना गर्ने सोच विकास गर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर बजार चलायमान बनाउन सकिने धारणा राखे ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुतमार्ग निर्माणपछि वीरगञ्जले तीव्र आर्थिक विकास गर्ने विश्वास व्यक्त गरे । आईसीपी, ड्राइपोर्ट र वीरगञ्ज भन्सार जस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ स्थानीयस्तरमा नदेखिएको उनले बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले निजी क्षेत्रमैत्री नीति नहुँदा उद्योग–व्यवसाय संकटमा पर्दै गएको बताए । संघ, प्रदेश र स्थानीय तहबाट लगाइने करको बोझले व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगञ्ज आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गरे । शहरको पहिचान जोगाउन यहाँ रहेका सम्भावनाको उचित व्यवस्थापन र प्रवर्द्धन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा महिला उद्यमी गुड्डी जोशीले स्वदेशी उत्पादन प्रयोगलाई व्यवहारमै उतार्न नीति, बजार र उपभोक्ताको सोच परिवर्तन आवश्यक रहेको बताइन् । स्थानीय उत्पादन प्रयोग बढेमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र बलियो हुने उनको भनाइ थियो ।
पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगञ्जको दीगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले आर्थिक चेतना र सहकार्यले मात्र वीरगञ्जको सम्भावनालाई व्यवहारमा उतार्न सकिने बताए ।
अन्तरक्रिया कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
