वीरगञ्ज। सशस्त्र प्रहरी बल नेपाल, पर्साको सहकार्यमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई सल तथा न्यानो कपडा वितरण गरिएको छ।
लाईन्स क्लब वीरगञ्जको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. ५ स्थित कारागार कार्यालयमा न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, लाईन्स क्लब वीरगञ्जका अध्यक्ष सुरेश कुमार रुङ्गटा, कारागार प्रशासक उप–सचिव बाबुलाल रेग्मी, कारागार सुरक्षा बेस वीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरी घिमिरे तथा कारागार सुरक्षा गार्डका प्रहरी नायब निरीक्षक डम्मर बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा कारागारमा रहेका महिला कैदीबन्दीलाई ६२ थान सल वितरण गरिएको थियो भने उनीहरूसँग रहेका पाँच जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको र यस्ता मानवीय सहयोगका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।
