वीरगञ्ज। सशस्त्र प्रहरी बल नेपाल, पर्साले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमावर्ती क्षेत्रका नागरिकलाई सहयोग गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका वडा नं. १ छप्कैया स्थित श्री बविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा आँखा शिविर आयोजना गरिएको हो।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, वीरगञ्ज सामुदायिक आँखा अस्पताल र लक्ष्मी सनराइज बैंक वीरगञ्जको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा सम्पन्न शिविरमा ७८ जना स्थानीयवासीले नि:शुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।
कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी तथा लक्ष्मी सनराइज बैंक वीरगञ्जका शाखा प्रबन्धक रोहिणी आचार्यलगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।
