वीरगञ्ज। नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले विशेष महाधिवेशनमार्फत पार्टीको नवीनीकरण अपरिहार्य भइसकेको बताएका छन् । भिडियो सन्देश सार्वजनिक गर्दै उनले पार्टी र सत्ता राजनीतिमा लामो समयदेखि हाबी हुँदै आएका सीमित स्वार्थ समूहका कारण नेपाली कांग्रेस क्रमशः कमजोर बन्दै गएको आरोप लगाएका छन् ।
झाले महाधिवेशनको चर्चा सुरु भएको पछिल्लो तीन महिनाको अवधिलाई स्मरण गर्दै भने, ‘पार्टीको भविष्य कसरी तय गर्ने भन्ने विषयमा बहस र मन्थन हुनु स्वाभाविक भए पनि अनावश्यक ढिलाइले कांग्रेसलाई नै नोक्सान पु-याएको छ ।’ यथास्थितिमा रमाइरहेका नेताहरूले समयको संवेदनशीलता नबुझेको र प्रतिनिधिहरूलाई अल्मल्याउने काम गरेको उनको भनाइ छ ।
उनका अनुसार उक्त अवधिमा पार्टीभित्र एकता, सहकार्य र वैचारिक निर्माणका लागि ठोस पहल हुन सकेन । बरु केही नेताहरू मध्यरातसम्म अन्य दलका ढोका चहार्दै सहकार्यको तानाबाना बुन्न व्यस्त देखिए, जसले उनीहरूको प्राथमिकता पार्टी होइन, सत्ता र व्यक्तिगत स्वार्थ भएको प्रष्ट पारेको झाको टिप्पणी छ ।
“पार्टीको आन्तरिक अपेक्षा, माग र अपरिहार्यतालाई बेवास्ता गर्दै बाहिर चोचोमोचो मिलाउन खोज्ने प्रवृत्तिले उनीहरू पार्टी हितप्रति कति वेपरवाह छन् भन्ने देखिन्छ,” झाले भनेका छन् । यस्ता गतिविधिले कांग्रेसलाई अझै कमजोर बनाउने खतरा बढेको उनको दाबी छ ।
युवा नेता झाले विशेष महाधिवेशनलाई पार्टी र देशलाई गौण ठान्ने प्रवृत्तिलाई अन्त्य गर्ने निर्णायक अवसरको रूपमा लिन आग्रह गरेका छन् । उनका अनुसार यो विशेष महाधिवेशन स्वार्थ समूह र तिनका मतियारहरूलाई बिदाई गर्ने सम्भवतः अन्तिम मौका पनि हुन सक्छ, जसलाई कुनै हालतमा गुम्न दिन नहुने उनले स्पष्ट पारे ।
उनले विगतमा सामान्य अवस्थाहरूमा जानेर वा नजानेर यस्ता समूहलाई साथ दिइएको हुन सक्ने स्वीकार गर्दै अहिलेको अवस्था भने पूर्ण रूपमा फरक रहेको बताए । कांग्रेसलाई पुनः सही दिशामा फर्काउन विशेष महाधिवेशन अपरिहार्य भएकाले अब पनि अल्मलिने, सही र गलत छुट्याउन नचाहने वा दूरदृष्टि देखाउन नसक्ने हो भने पार्टी पतनको जिम्मेवारी सबैले बोक्नुपर्ने चेतावनी पनि उनले दिएका छन् ।
झाले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनका विषयमा अब कुनै संशय बाँकी नरहेको भन्दै आ–आफ्नो ठाउँबाट अधिकतम प्रयास गर्न आग्रह गरे । “कांग्रेसको दुर्गति निम्त्याउनेहरूको हिस्सेदार बन्ने कि पार्टीलाई गति दिने, निर्णयकर्ता हामी आफैं हौं,” भन्दै उनले प्रतिनिधिहरूलाई नेतृत्वदायी भूमिका खेल्न आह्वान गरे ।
उनले केन्द्रीय प्रतिनिधिहरूको व्यापक सहभागितासहित विशेष महाधिवेशन सफल पार्दै नयाँ नेतृत्व र नीति तय गर्नुपर्नेमा जोड दिए । त्यसपछि नयाँ ऊर्जा, भरोसा र एकताका साथ फागुन २१ को निर्वाचनमा जुट्नुपर्ने उनको भनाइ छ ।
विशेष महाधिवेशनलाई सुअवसरका रूपमा उपयोग गरी नेपाली कांग्रेसलाई स्वार्थी समूहको चङ्गुलबाट मुक्त गराउन सबै प्रतिनिधिहरूले निर्णायक भूमिका खेल्नुपर्ने उनले भिडियोमा उल्लेख गरेका छन् ।
