वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केन्द्रीय तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा लागू गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नआएसम्म उक्त क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न कडाइका साथ रोक लगाइएको छ।
प्रशासनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको हो। निषेधाज्ञा लागू हुने क्षेत्रको चार किल्ला पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेट निर्धारण गरिएको छ।
उक्त चार किल्लाभित्र पर्ने क्षेत्र वीरगञ्जको सबैभन्दा व्यस्त र महत्वपूर्ण भाग मानिन्छ। निषेधाज्ञा उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट चेतावनी दिएको छ।
