आज:  | Tue, 21, Apr, 2026

धनुषाको मस्जिद तोडफोड घटनाप्रति जसपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

Avatar photo दिशा निर्देश २० पुष २०८२, आईतवार १६:४१ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। धनुषा जिल्लाको कमला नगरपालिका–६, सखुवामरान टोलस्थित मुस्लिम बस्तीको मस्जिदमा शनिबार भएको तोडफोडको घटनाप्रति जनता समाजवादी पार्टी (जसपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी अध्यक्ष अशोक कुमार राईद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको घोर निन्दा गर्दै दोषीहरूलाई प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ।

विज्ञप्तिमा शान्तिप्रिय, बहुसांस्कृतिक नेपाली समाजमा यस्ता घटनाले धार्मिक द्वेष र साम्प्रदायिक तनाव सिर्जना गर्नुका साथै राज्य व्यवस्थालाई कमजोर बनाउने उल्लेख गरिएको छ।

जसपाले मस्जिद तोडफोडजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्ति, समूह तथा तिनका संरक्षकहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न, दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन सरकारसँग आग्रह गरेको छ। साथै पीडितको सुरक्षा, न्याय र क्षतिपूर्तिको सुनिश्चितता गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा र निगरानी व्यवस्था अपनाउनसमेत माग गरिएको छ।

विज्ञप्तिमार्फत पार्टीले घटनास्थल तथा आसपासका सम्पूर्ण समुदायलाई शान्ति, सद्भाव र संयमता अपनाउन अपील गर्दै समस्याको समाधान संवाद र कानुनी प्रक्रियामार्फत खोजिनुपर्नेमा जोड दिएको छ।


सम्बन्धित खबरहरु