आज:  | Tue, 21, Apr, 2026

मस्जिद तोडफोड र कुरान जलाइएको घटनाविरुद्ध वीरगञ्जमा प्रदर्शन, प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार

Avatar photo दिशा निर्देश २० पुष २०८२, आईतवार १३:३७ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। धनुषा जिल्लाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मस्जिदमा तोडफोड तथा पवित्र कुरान जलाइएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
शनिबार धनुषामा घटेको उक्त घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदाय सडकमा उत्रिँदै टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको पर्सा प्रहरीका डीएसपी राजु कार्कीले जानकारी दिए। उनका अनुसार भीडले प्रहरीमाथि आक्रमण गर्न थालेपछि बाध्यतावश ५ राउण्ड अश्रुग्यास प्रहार गरिएको हो। प्रहरीको कारबाहीपछि हाल अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्जको घण्टाघर, छपकैया लगायतका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन जारी थियो। प्रदर्शनकारीहरूले धनुषाको भएको मस्जिद आक्रमण घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले अल्पसंख्यक समुदायमाथि हुने आक्रमण स्वीकार्य नहुने र धार्मिक स्थलको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग समेत अघि सारेका थिए।

उक्त घटना शनिबार धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा भएको थियो, जहाँ तोडफोड गर्नुका साथै धार्मिक ग्रन्थ जलाइएको थियो।

प्रहरीका अनुसार घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोबाट भएको हो।
धनुषा प्रहरी प्रमुख एसपी रुग्म कुँवरका अनुसार प्रारम्भमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने सामग्रीसहितको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।

प्रहरीले भिडियो पोस्ट गर्ने दुवै युवकलाई तत्काल नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। तर सोही क्रममा केही युवाहरूको समूहले मस्जिदमा पुगेर आक्रमण गरेको एसपी कुँवरले बताए। सो घटनाको प्रतिक्रियास्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको हो।
प्रहरीले हाल दुवै जिल्लामा सुरक्षा सतर्कता बढाइएको र घटनासँग सम्बन्धित सबै पक्षमाथि निष्पक्ष अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित खबरहरु