वीरगञ्ज । धनुषा जिल्लाको कमला नगरपालिका–६, सखुवामा रहेको मस्जिदमाथि आक्रमण गरी पवित्र कुरान जलाइएको अमानवीय तथा निन्दनीय घटनाको विरोधमा आज वीरगञ्जका घण्टाघरलगायत विभिन्न चोकहरूमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।
उक्त प्रदर्शन मुस्लिम समुदायका युवाहरूको अगुवाइमा सम्पन्न भएको हो।
प्रदर्शनकारीहरूले “मुस्लिमको धार्मिक स्थल तोडफोड गर्न पाइँदैन”, “मस्जिदमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर”, “पवित्र कुरानमाथिको अपमान बन्द गर”, “धार्मिक आस्थामाथिको आक्रमण स्वीकार्य छैन”, “धार्मिक स्थलको सुरक्षा सुनिश्चित गर”, “धार्मिक स्थलमाथिको तोडफोड गम्भीर अपराध हो” र “शान्ति, सद्भाव र सहअस्तित्व कायम गर” जस्ता नाराहरू घन्काएका थिए।
उनीहरूले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।
साथै यस्ता घटनाहरू दोहोरिन नदिन धार्मिक स्थलहरूको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनका क्रममा केही समय सवारी आवागमन प्रभावित भए पनि प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
