वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल उज्यालो पार्टी र जेन-जी युवाबीच केन्द्रमा राजनीतिक सहकार्य र एकताको समझदारी बनेसँगै त्यसको प्रभाव जिल्लास्तरमा पनि देखिन थालेको छ। यही पृष्ठभूमिमा पर्सामा राजनीतिक समन्वय र सहकार्यलाई अघि बढाउने उद्देश्यसहित पहिलो चरणको छलफल सम्पन्न भएको छ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्त, उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबु यादवसहित एमाले परित्याग गरेका वीरगञ्ज महानगरपालिका वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह परागको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, स्थानीय स्तरमा देखिएका चुनौती, आपसी समन्वय तथा सहकार्यका सम्भावनाबारे विमर्श गरिएको जनाइएको छ। साथै आगामी कार्ययोजना र निर्वाचन रणनीतिका विषयमा पनि सहभागीहरूबीच छलफल भएको थियो।
यस छलफललाई अघि बढाउन जेन-जी पर्साका संयोजक बिशेष साह र सल्लाहकार राजा गुप्ताले समन्वयकारी भूमिका खेलेका छन्। यस अवसरमा जेन-जी पर्साका संयोजक बिशेष साहले देशभरका विभिन्न जिल्लामा रहेका प्रतिनिधिहरू एकजुट भई आगामी निर्वाचनमा सकारात्मक र परिवर्तनमुखी राजनीति निर्माण गर्नुपर्नेमा जोड दिए।
