काभ्रेपलाञ्चोक । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा पूर्वाधार विज्ञ डा. इञ्जिनियर शंकर ढकालले काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदका लागि उम्मेदवारी दिने दावेदारी सार्वजनिक गरेका छन्।
पार्टीको केन्द्रीय समिति बैठकमै यस विषयमा छलफल भइसकेको उल्लेख गर्दै ढकालले काभ्रे–२ मा आफ्नो आकांक्षा, तयारी र आधार स्पष्ट रहेको बताएका छन्। उज्यालो नेपाल पार्टी काभ्रे जिल्ला समिति र बागमती प्रदेश समितिबाट समेत बलियो प्रस्तावसहित आफ्नो नाम पहिलो नम्बरमा सिफारिस हुने विश्वास उनले व्यक्त गरेका छन्।
ढकालले पार्टी निर्माण, एकता प्रक्रिया र संगठन विस्तारका लागि आफूले अहोरात्र खटिएर योगदान गरेको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकीकरणपछि पनि उज्यालो भविष्यको अभियान र पार्टीको लक्ष्यप्रति आफू अविचलित रहने उनको भनाइ छ।
काभ्रेपलाञ्चोक–२ अन्तर्गत बनेपा, मण्डनदेउपुर, पाँचखाल, धुलिखेल र पनौती क्षेत्रमा पार्टी कार्यकर्ता मात्र होइन, अन्य दलका नेता कार्यकर्ताबाट समेत व्यापक समर्थन पाएको दाबी ढकालले गरेका छन्। विशेषगरी मौलिकता सहितको पूर्वाधार विकास र पुरातत्व इन्जिनियरिङ्को विज्ञताका कारण नेवारी समुदायमा राम्रो आधार बनेको उनको भनाइ छ। भुम्लु र बेथानचोक क्षेत्रमा पनि छिट्टै पुग्ने उनले बताएका छन्।
“म केवल आवाज होइन, समाधान दिने प्रतिनिधि बन्न चाहन्छु,” भन्दै ढकालले आधुनिक पूर्वाधार इन्जिनियरिङ्को आधारमा नयाँ विकास मोडेल प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्। उनले काभ्रेपलाञ्चोक–२ का लागि विकासको मास्टरप्लान तयार गर्ने काम अघि बढाइसकेको जानकारी पनि दिएका छन्।
पार्टीभित्र उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन, भिजन प्रस्तुति र प्रश्न–उत्तर सहितको प्रतिस्पर्धा हुनुपर्ने सुझाव दिँदै ढकालले टीके प्रथाभन्दा आन्तरिक लोकतन्त्रको अभ्यास आवश्यक रहेको बताएका छन्। छोटो समय भए पनि लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन गर्न आफू पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ।
हाल उनी काभ्रे–२ का विभिन्न स्थानीय तहमा मतदाता भेटघाटमा सक्रिय छन्। बनेपा र मण्डनदेउपुरमा सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै पाँचखाल, धुलिखेल र पनौती क्षेत्रमा विशेष भ्रमणको तयारी भइरहेको उनले बताएका छन्।
ढकालले आउँदो निर्वाचनमा काभ्रेपलाञ्चोक–२ बाट आफ्नो जित सुनिश्चित देखिएको दाबी गरेका छन्। “अब काभ्रे–२ र समग्र देशले राजनीतिक शुद्धिकरण र विकास रूपान्तरण खोजिरहेको छ,” भन्दै उनले परिवर्तनको लहर देशभर फैलँदै गएको बताएका छन्।
पूर्वाधार, खानेपानी, सिँचाइ र सहरी विकास क्षेत्रमा दुई दशकको अनुभव बोकेका ढकाल संघीय सांसद निर्वाचित भएमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको एकीकृत यात्रासँगै आफू पार्टीभित्र एकता र सुधारका पक्षमा दृढ रहने उनको भनाइ छ।
