आज:  | Tue, 21, Apr, 2026

युवा नेता अमिताभ बच्चन दासलाई प्रगतिशील लोकतान्त्रिक पार्टी पर्साको इन्चार्जको जिम्मेवारी

Avatar photo दिशा निर्देश १४ पुष २०८२, सोमबार १५:२७ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। डा. बाबुराम भट्टराई र जनार्दन शर्मा प्रभाकर नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी मधेस प्रदेशको एकता बैठकले पर्सा जिल्ला इन्चार्जको जिम्मेवारी अमिताभ बच्चन दासलाई दिएको छ ।

वीरगञ्जमा सम्पन्न बैठकले दासलाई पर्सा जिल्ला इन्चार्जमा सर्वसम्मत रूपमा चयन गरेको हो । पर्सा जिल्ला इन्चार्जको जिम्मेवारी पाएपछि अमिताभ बच्चन दासले संगठन विस्तारलाई प्राथमिकता दिने बताएका छन् । उनले पार्टीका गतिविधिलाई थप सक्रिय बनाउँदै पर्सा जिल्लामा संगठन सशक्त बनाउने, कार्यकर्ता परिचालन र जनस्तरसम्म पार्टीको उपस्थितिलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीका मधेस प्रदेश इन्चार्ज शिवचन्द्र कुशवाहाको अध्यक्षतामा भएकोे बैठकमा प्रमुख अतिथिका रूपमा केन्द्रिय अध्यक्ष परिषद सदस्य सुरेन्द्र जैसवाल (अशोक) सहित पूर्व मन्त्री तथा पार्टीका वार्ता तथा निर्वाचन परिचालन समितिका सदस्य सत्य नारायण भगत, नेता बालकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बैठकले मधेस प्रदेश अध्यक्ष परिषदमा सन्तोष राज घिमिरे, हसमजान अन्सारी, सुरेश चौधरी, छठु चौधरी र सुमित कर्ण सदस्य रहने गरी १५१ सदस्यीय मधेस प्रदेश समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकबाट विभिन्न जिल्लाका इन्चार्जहरू पनि चयन गरिएको छ । बारा जिल्लामा रञ्जित पटेल (दिनेश), रौतहटमा जयप्रकाश जैसवाल, सर्लाहीमा मेघराज फुयाल, महोत्तरीमा राजेश सिंह, धनुषामा सुमित कर्ण, सिरहामा अरबिन्द यादव र सप्तरीमा पुजन सिंहलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । कार्यक्रमको सञ्चालन सुरेश चौधरीले गरेका थिए ।


सम्बन्धित खबरहरु