आज:  | Tue, 21, Apr, 2026

अखिल क्रान्तिकारी केन्द्रीय सचिव मिरोज अहमद पर्सा ३ बाट समानुपातिक सांसदका लागि सिफारिस

Avatar photo दिशा निर्देश १३ पुष २०८२, आईतवार १४:०७ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमद पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा समानुपातिक सांसदका लागि सिफारिस भएका छन् । उनलाई जनवर्गीय समूहअन्तर्गत मुस्लिम क्लस्टरबाट सिफारिस गरिएको हो ।

मिरोज वि.सं. २०७३ सालमा अखिल क्रान्तिकारीको सदस्यका रूपमा विद्यार्थी राजनीतिमा आवद्ध भएका हुन् । एक दशकभन्दा लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएपछि जिल्ला कमिटी सदस्य बनेका थिए । त्यसपछि वीरगञ्ज महानगर कमिटीको सहसंयोजक, महानगर कमिटी सचिव हुँदै पर्सा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका खेलेका छन् ।

२३ औं राष्ट्रिय सम्मेलनबाट मिरोज अखिल क्रान्तिकारीको केन्द्रीय सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् । एक दशकभन्दा लामो समयदेखि निरन्तर संगठन र विद्यार्थी आन्दोलनमा सक्रिय मिरोजको यो निर्विरोध चयनले उनको नेतृत्व क्षमता, संगठनप्रतिको प्रतिबद्धता र लोकप्रियतालाई प्रमाणित गरेको छ ।

युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिएका मिरोज विद्यार्थीका मुद्दा मात्र नभई समसामयिक सामाजिक र राजनीतिक सवालमा पनि निरन्तर सक्रिय छन् । शिक्षा, रोजगारी, समान सहभागिता, सामाजिक न्यायलगायत विषयमा उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै दबाबमूलक भूमिका निर्वाह गर्दै आएका छन् । साथै विभिन्न सामाजिक अभियानमार्फत उनले सामाजिक उत्तरदायित्वको अभ्यासमा समेत जोड दिँदै आएका छन् ।

वीरगञ्जमा सञ्चालन भएको जेनजी आन्दोलनमा पनि मिरोजले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यही पृष्ठभूमिका आधारमा पार्टीले उनलाई जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेताका रूपमा पर्सा क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसदका लागि सिफारिस गरेको नेकपा पर्साका इन्चार्ज विजय महताेले बताए ।


सम्बन्धित खबरहरु