आज:  | Tue, 21, Apr, 2026

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार

Avatar photo दिशा निर्देश ११ पुष २०८२, शुक्रबार ०९:२७ मा प्रकाशित (३ महिना अघि)

काठमाडौं । महाधिवेशनसम्बन्धी विवाद पुनः चर्किँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले क्रियाशील सदस्यताको काम टुंग्याएर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् ।

महामन्त्री शर्माले महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीले देश र जनतासमक्ष कस्तो सकारात्मक सन्देश दिने भन्ने विषय पनि महत्वपूर्ण भएको उल्लेख गरेका छन् । उनले हालको सुरक्षा अवस्था र राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै फागुनभन्दा वैशाखमा निर्वाचन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । “जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव सम्भव छैन, त्यसका लागि सरकारले वातावरण बनाउनुपर्छ,” उनले भनेका छन् ।

पार्टीको संस्थागत निर्णय सबैले मान्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले आवश्यक परे महाधिवेशनको मिति केही दिन हेरफेर हुन सक्ने संकेत पनि गरेका छन् ।

यता पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका आन्तरिक विषयलाई अतिरञ्जित ढंगले सार्वजनिक गर्नु उपयुक्त नहुने बताएका छन् । उनले यस्ता विषय पार्टीको बैठकभित्रै छलफल हुनुपर्ने धारणा राखे । “कसैलाई दोष दिने विषय छैन । सभापतिले कार्यवाहक सभापतिलाई सम्पूर्ण अधिकार दिनुभएको छ । महामन्त्रीलाई क्रियाशील सदस्यताको व्यवस्थापन गर्ने अधिकार विधानले नै दिएको छ,” उनले भने । समयसीमा टुंग्याएर अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन कुनै कठिनाइ नरहेको र त्यसपछि अधिवेशन सहज रूपमा सम्पन्न हुने उनको भनाइ छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले धारणा राखिसकेका छन् ।


सम्बन्धित खबरहरु