वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू आगामी निर्वाचनका लागि तयारी अवस्थामा देखिएका छन् । तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भने अझै अलमलमै रहेका छन् ।
नेकपाले जनसभामार्फत र रास्वपाले प्रधानमन्त्रीसँगको भेटमार्फत आफूहरू चुनावका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिएका छन् । तर कांग्रेस र एमालेले भने निर्वाचनभन्दा प्रतिनिधिसभा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएका छन् ।
यसैबीच, काठमाण्डौमा आयोजित एक सभालाई सम्बोधन गर्दै नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव बिथोल्ने प्रयास नगर्न सबै पक्षलाई खबरदारी गर्नुभएको छ । उहाँले अबको राजनीतिक निकासको एकमात्र विकल्प निर्वाचन नै भएको स्पष्ट पार्नुभयो ।
यस्तै, रास्वपाले फागुन २१ गते तोकिएको निर्वाचनमा केन्द्रित हुन सरकारसँग आग्रह गरेको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेताहरूले हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर समयमै निष्पक्ष चुनाव गराउन सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री कार्कीले घोषित मितिमै निर्वाचन सम्पन्न गराउनेमा सरकार केन्द्रित रहेको बताउनुभएको थियो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयार रहेको जानकारी दिनुभएको छ । तर चुनावको तयारी भइरहे पनि सरकारले मुख्य राजनीतिक दलहरूलाई विश्वासमा लिन भने नसकेको देखिन्छ । निर्वाचनको विषयमा सरकार र कांग्रेस, एमाले, नेकपा लगायत प्रमुख दलका शीर्ष नेताबीच औपचारिक संवाद अझै सुरू हुन सकेको छैन ।
यसैबीच, कांग्रेस र एमाले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । यसअघि नै ती दलका सांसदहरूले छुट्टाछुट्टै रिट दर्ता गराइसकेका छन् । अब दुवै दलले निवर्तमान सांसदहरूको बहुमत हस्ताक्षरसहित पूरक रिट दर्ता गर्ने तयारी गरेका छन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसद आवश्यक पर्छ । एमालेका ७५ जना र कांग्रेसका ६६ जना निवर्तमान सांसदले हस्ताक्षर गरिसकेका छन् । एमालेले हस्ताक्षरसहितको कागजात यसअघि नै सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले आज बुझाउने तयारी गरेको छ ।
