वीरगञ्ज । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिई कुनै पनि उम्मेदवारले गाडी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।
आयोगका अनुसार अनुमति नपाएको गाडी प्रयोग गरी प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने छ। नियम उल्लङ्घन भएमा त्यस्तो गाडी नियन्त्रणमा लिइ कारबाही गरिनेछ। ट्राफिक प्रहरीले वा अन्य सुरक्षाकर्मीले नियन्त्रणमा लिएको गाडीको विवरण जिल्ला आचारसंहिता अनुगमन समितिलाई बुझाउनुपर्ने व्यवस्था पनि छ।
निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवारले सम्बन्धित चुनाव क्षेत्रमा आयोगले तोकेअनुसार दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने गाडी प्रयोग गर्न सक्नेछन्। गाडी नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ।
विदेशी नम्बर प्लेट भएका गाडी प्रयोग गर्न नपाइने, गाडीको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पनि रोक लगाइएको छ। साथै, अनुमति प्राप्त गाडी प्रयोग गरी पनि कुनै दल वा उम्मेदवारले अशक्त मतदाता बाहेक अन्य मतदाता ओसारपसार गर्न पाउने छैनन्।
