ढाका । बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवक दिपु चन्द्र दासको भीडद्वारा कुटपिट गरी हत्या गरिएको घटनामा सुरक्षा निकायहरूले ठुलो कारबाही गर्दै १० जना अभियुक्तलाई पक्राउ गरेका छन्। उक्त जानकारी बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेका हुन्।
युनुसका अनुसार घटनासँग सम्बन्धित सात जना संदिग्धलाई र्यापिड एक्सन बटालियन (आरएबी)ले पक्राउ गरेको छ भने स्थानीय प्रहरीले तीन जना अभियुक्तलाई हिरासतमा लिएको छ। यी गिरफ्तारीहरू देशका विभिन्न क्षेत्रमा गरिएको विशेष अपरेशनका क्रममा भएको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार दिपु चन्द्र दासलाई ईश्वरनिन्दाको आरोप लगाउँदै भीडले क्रूर रूपमा कुटपिट गरेको थियो। कुटपिटपछि उनलाई रूखमा झुण्ड्याएर शरीरमा आगो लगाइएको बताइएको छ। घटनाले देशभर व्यापक आक्रोश र चिन्ता उत्पन्न गरेको छ।
आरएबीले पक्राउ गरेका अभियुक्तहरूमा मोहम्मद लिमन सरकार (१९), मोहम्मद तारेक हुसेन (१९), मोहम्मद मानिक मिया (२०), इर्शाद अली (३९), निजुम उद्दिन (२०), आलमगीर हुसेन (३८) र मोहम्मद मिराज हुसेन अकोन (४६) रहेका छन्। त्यसैगरी प्रहरीले मोहम्मद अजमोल हसन सगीर (२६), मोहम्मद शाहिन मिया (१९) र मोहम्मद नजमुललाई पक्राउ गरेको जनाएको छ।
अन्तरिम सरकारले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरिने तथा दोषी ठहरिएमा कानुनअनुसार कडा सजाय दिइने आश्वासन दिएको छ। साथै अल्पसङ्ख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न थप कदम चालिने बताइएको छ।
यस घटनाको बङ्गलादेश हिन्दू–बौद्ध–क्रिश्चियन एकता परिषद्ले कडा निन्दा गरेको छ। परिषद्ले घटनालाई साम्प्रदायिक सद्भाव बिगार्ने षड्यन्त्रको संज्ञा दिँदै दोषीहरूलाई अविलम्ब कडा सजाय दिन माग गरेको छ।
विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बङ्गलादेश पहिले नै तनावग्रस्त अवस्थामा रहेको बेला यो घटना भएको हो। हादीको हालैको मृत्युले देशका विभिन्न भागमा अशान्ति र हिंसात्मक गतिविधि बढाएको छ। उनलाई शनिबार कडा सुरक्षा व्यवस्थाबीच ढाका विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधिस्थल नजिक अन्त्येष्टि गरिएको थियो।
