आज:  | Tue, 21, Apr, 2026

मधेस प्रदेशसभा आज नयाँ सभामुख चयन गर्दै

Avatar photo दिशा निर्देश ६ पुष २०८२, आईतवार ०९:२५ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशसभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ। सभामुख चयन प्रक्रिया अघि बढाउन दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

सभामुख पदका लागि दुई जना उम्मेदवार मैदानमा छन्। सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र नेकपा एमालेका त्रिलोकी प्रसादबीच प्रतिस्पर्धा हुने भएको हो।

यादवको प्रस्ताव नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले गरेका छन् भने समर्थन नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य फकिरा महतोले गरेकी छिन्।

त्यसैगरी एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्ताव जयचन्द्रप्रसाद पटेलले गरेका छन् भने समर्थन शारदा देवी थापाले गरेकी छिन्। मधेस प्रदेशसभामा सात दलीय गठबन्धन एकातिर रहँदा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको छ।

यसअघि सभामुख रहेका रामचन्द्र मण्डल पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो। पदअनुकूल आचरण नगरेको आरोपमा गत मंसिर ३ गते प्रदेशसभामा दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेशसभा बैठकमा मण्डल पदमुक्त भएको घोषणा गरेकी थिइन्।

हाल १०७ सदस्यीय मधेस प्रदेशसभामा तीन जना प्रदेशसभा सदस्य निलम्बित अवस्थामा छन्।


सम्बन्धित खबरहरु