आज:  | Tue, 21, Apr, 2026

उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा चर्कियो, मिडिया हाउसदेखि राजनीतिक कार्यालयसम्म तोडफोड र आगजनी

Avatar photo दिशा निर्देश ४ पुष २०८२, शुक्रबार १५:०२ मा प्रकाशित (४ महिना अघि)

ढाका। बंगलादेशमा शेख हसिना विरोधी युवा नेता उस्मान हादीको मृत्युपछि देशभर हिंसात्मक प्रदर्शन भड्किएको छ। बिहीबार रातिदेखि राजधानी ढाकासहित विभिन्न शहरमा तोडफोड, आगजनी र हत्याका घटनाहरू भएका छन्।

प्रदर्शनकारीहरूले देशका ठूला सञ्चारगृहहरू डेली स्टारप्रथम आलो को कार्यालयमा जबर्जस्ती प्रवेश गरी तोडफोड र आगजनी गरेका छन्। घटनाका कारण दुवै मिडिया संस्थान आज बन्द रहने जनाइएको छ भने अनलाइन सेवा पनि ठप्प भएको छ।

यसै क्रममा बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानको निवासमा पनि तोडफोड गरिएको छ। शेख हसिनाको पार्टी अवामी लिगका ढाका, राजशाही लगायतका कार्यालयहरूमा आगजनी गरिएको छ। चटगाँउमा भारतीय सहायक उच्चायोगको निवास अगाडि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन्।

उस्मान हादी जुलाई २०२४ मा शेख हसिनाविरुद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए। उनलाई १२ डिसेम्बरमा चुनाव प्रचारका क्रममा टाउकोमा गोली हानिएको थियो। गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ ६ दिनपछि उनको मृत्यु भएको हो।

उनको शव शुक्रबार साँझ सिंगापुरबाट बंगलादेश ल्याइने र शनिबार जोहरको नमाजपछि ढाकाको मानिक मियाँ एभिन्यूमा अन्त्येष्टि गरिने इंकलाब मञ्चले जनाएको छ।

यसैबीच, बीबीसी बंग्लाका अनुसार माइमन्सिंहको भालुका क्षेत्रमा धर्मको अपमान गरेको आरोप लगाउँदै एक हिन्दू युवक दीपू चन्द्र दासको कुटपिट गरी हत्या गरिएको छ। मृतकको शवलाई नग्न बनाएर रूखमा झुण्ड्याई आगो लगाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब ९ बजे भीडले उनलाई समातेपछि कुटपिट गरी हत्या गरेको हो। शवलाई माइमन्सिंह मेडिकल कलेज अस्पतालको शवगृहमा राखिएको छ। घटनामा अहिलेसम्म मुद्दा दर्ता भएको छैन।

बंगलादेशको खुलना शहरमा पत्रकार इमदादुल हक मिलनको गोली हानी हत्या भएको छ। उनी शालुआ प्रेस क्लबका अध्यक्ष थिए। बिहीबार राति करिब ९:३० बजे चिया पसलमा बसिरहेका बेला दुई मोटरसाइकलमा आएका चार जनाले उनीमाथि गोली चलाएका थिए।

घाइते अवस्थामा अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरे। घटनामा अर्को एक व्यक्ति घाइते भएका छन्। प्रहरीले अहिलेसम्म आक्रमणकारीको पहिचान गर्न सकेको छैन।

ढाका विश्वविद्यालयमा रहेको शेख मुजिबुर रहमान हलको नाम परिवर्तन गरी ‘शहीद उस्मान हादी हल’ राखिएको छ। हादीको मृत्युपछि विद्यार्थी नेताहरूले मध्यरातमा हल अगाडि नाम परिवर्तनका पोस्टर टाँसेका थिए।

डेली स्टार कार्यालयमा आगजनी हुँदा धेरै कर्मचारीहरू छतमा फसेका थिए। अखबारकी रिपोर्टर जैमा इस्लामले सामाजिक सञ्जालमा लेखेकी छन्, “म सास फेर्न सक्दिनँ, चारैतिर धुवाँ छ।”

न्यू एजका सम्पादक नूरुल कबीरमाथि पनि फार्मगेटस्थित डेली स्टार कार्यालयमा भीडले आक्रमण गरेको छ।

खेलकुद मन्त्री आसिफ महमूद सजीब भुइयाँले हिंसात्मक गतिविधिमा युवा नेताहरूको संलग्नता नरहेको दाबी गर्दै केही स्वार्थी समूहले आन्दोलनलाई भड्काउने प्रयास गरिरहेको बताएका छन्।

यसैबीच अन्तरिम राष्ट्रपति मुहम्मद युनुसले उस्मान हादीको मृत्यु र देशभर फैलिएको हिंसाबारे आज दिउँसो उच्चस्तरीय बैठक बोलाएका छन्।

बंगलादेशमा बढ्दो अशान्तिका बीच भारतले आफ्ना नागरिक र विद्यार्थीलाई सतर्क रहन आग्रह गरेको छ। ढाकास्थित भारतीय उच्चायोगले यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अपील गरेको छ।


सम्बन्धित खबरहरु