वीरगञ्ज । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको मतगणना सुरु गरिएको छ। पार्टी निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार मतगणना प्रक्रिया प्रारम्भ भइसकेको छ र करिब तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।
निर्वाचनमा कुल २ हजार २६३ मतदातामध्ये २ हजार २२७ जनाले मतदान गरेका थिए भने ३६ जना प्रतिनिधि मतदानमा सहभागी भएनन्।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब ७ बजे सकिएको थियो। लामो समयसम्म चलेको मतदानपछि मतगणना प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, पार्टीको शक्तिशाली पद मानिने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे चुनावी मैदानमा छन्।
